काठमाडौँ :
निकै तडक भडकका साथ रिलिज गरिएको फिल्म ‘महाजात्रा’ नेपालसँगै विदेशमा पनि हाउसफुल भएको छ। शुक्रबारबाट हलमा लागेको फिल्मले यतिबेला हल्ला खल्ला निकै गरिरहेको अवस्थामा नेपालका पुर्वराज परिवारहरु पनि निर्माण टिमलाई हौशाला दिदै फिल्म हेर्न हलमा पुगेका छन्।
‘जात्रा’ शृङ्खलाकै उत्कृष्ट भनेको ‘महाजात्रा’ लाई पूर्व रानी कोमल राज्य लक्ष्मी देवी शाहले फिल्म हेर्न हलमा पुगेकीमा हुन्। शुक्रबार बेलुकी काठमाडौँस्थित सिभिल मलमा हिमानी ट्रष्टद्वारा आयोजित शोमा सहभागी भएकी शाहले फिल्म हेरेकी हुन्। फिल्म हेरेपछि उनले ‘महाजात्रा’ टिमसँग भेटघाट गर्दै बधाई दिदै फिल्म रमाइलो बनेको प्रतिक्रिया दिइन्।
पत्रकारसँगको भेटमा उनले भनिन्,‘एकदम मनप¥यो । हामी सबैले रमाइलो ग¥यौ ।’
शुक्रबार हलमा फिल्म हेरिरहेका दर्शकसँग साक्षात्कार गर्न निर्देशक प्रदीप भट्टराई, अभिनेता हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत लगायत पुगेका थिए।दर्शकले दिएको प्रतिक्रियाले आफूहरूको मेहनत सफल भएको अभिनेता आचार्यले उत्साहित देखिए।
उनले भने,‘हामी शनिवार पनि दर्शकसँग भेटिरहेका छौँ । प्रिमियर झैँ प्रतिक्रिया प्राप्त भईरहेका छन् । मनोरञ्जनसँगै हामीले दिएको संदेशलाई दर्शकले ग्रहण गर्नुभएको छ । हामी कृतज्ञ छौँ।’
‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको यस्तो तेस्रो भाग ‘महाजात्रा’ को बम्पर सुरुआत भएपछि निर्देशक भट्टराई पनि उत्साहित बनेका छन्। चैत ९ गतेदेखि नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन भइरहेको फिल्म दर्शकको भिडभाड हलमा देखिएको छ । निर्देशक भट्टराईले अष्ट्रेलियाको सिड्नी, होवर्ट लगायतका केही सहरमा ‘सोल्ड आउट’ भएको जानकारी दिए।
‘महाजात्रा नेपाल मात्र नभई विदेशमा पनि हाउसफुल भइरहेको छ,’उनले भने,‘हामीलाई गर्नुभएको माया र विश्वासलाई हामीले जति धन्यवाद दिए पनि अपुग हुन्छ । हामीलाई दर्शकको विश्वासमा अडिग रहने चुनौती थियो । आज विश्वभरबाट प्राप्त प्रतिक्रियाले हाम्रो टिम नै उत्साहित छ।’
फिल्म युनिट शनिवार विहानैदेखि काठमाडौँ उपत्यकाका विभिन्न हलमा पुगेर दर्शकसँग भेटघाट गरिरहेको छ । दर्शकको चाँप हलमा बढेपछि प्रदर्शकले शो सङ्ख्या बढाएका छन् । शनिवारका अधिकाँस शो हाउसफुल भइसकेका छन् । निर्माता म्याक्स दीपेश खत्रीले प्रदर्शक, वितरक, मिडियाले फिल्म प्रति गरेको विश्वास सफल भएको प्रतिक्रिया दिए ।
आपतकालीन रुपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिने ‘महाजात्रा’मा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् ।