पोखरा,
काठमाडौं विश्वविद्यालयको सम्बन्धनमा पोखरास्थित अशोका कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टले सूचना प्रविधि स्नातक (बीआईटी) कार्यक्रम सञ्चालन गर्ने भएको छ।
प्राविधिक तथा सूचना प्रविधि शिक्षाको बढ्दो आवश्यकता पूरा गर्दै दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले कलेजले आगामी शैक्षिक सत्रदेखि यो कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको हो।
कलेजका अनुसार कार्यक्रममा कम्प्युटर प्रोग्रामिङ, तथ्याङ्क व्यवस्थापन, कृत्रिम बुद्धिमत्ता, साइबर सुरक्षा, क्लाउड कम्प्युटिङ, तथ्याङ्क विज्ञान, सफ्टवेयर इन्जिनियरिङ, वेब तथा मोबाइल अनुप्रयोग विकासलगायतका आधुनिक विषय समावेश गरिएको छ। यसले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक तथा उद्योगमुखी सीप हासिल गर्न सहयोग पुग्ने कलेजको विश्वास छ।
काठमाडौं विश्वविद्यालयको शैक्षिक मापदण्डअनुसार सञ्चालन हुने यस कार्यक्रममार्फत विद्यार्थीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सूचना प्रविधि क्षेत्रमा प्रतिस्पर्धी, दक्ष र नवप्रवर्तनशील जनशक्ति बन्न आवश्यक ज्ञान, सीप तथा व्यावसायिक क्षमता विकास गराइने कलेजले जनाएको छ।
अशोका कलेजले पोखराको सृजनचोकस्थित आफ्नै जग्गामा अत्याधुनिक सुविधा सम्पन्न नयाँ शैक्षिक भवन निर्माण कार्य सुरु गरिसकेको छ। भवन निर्माण सम्पन्न नहुँदासम्म यस वर्षको पठनपाठन तथा भर्ना प्रक्रिया पोखरा–९, न्युरोड, सुधार मार्ग (पुरानो नगरपालिकाको भवन पछाडि) बाट सञ्चालन गरिने जानकारी दिइएको छ। साथै आधुनिक प्रयोगशाला, अनुभवी तथा योग्य प्राध्यापक, उद्योगसँगको सहकार्य, परियोजनामूलक सिकाइ र अनुसन्धानमुखी शैक्षिक वातावरणमार्फत गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
यस कार्यक्रम अन्तरगत रहेर भर्ना हुन चाहने विद्यार्थीले काठमाडौं विश्वविद्यालयद्वारा सञ्चालन हुने साझा प्रवेश परीक्षा (केयूसीएटी–सीबीटी २०२६) मा सहभागी हुनुपर्नेछ। कलेजका अनुसार पोखरामा उक्त प्रवेश परीक्षाको केन्द्रका रूपमा अशोका कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टलाई तोकिएको छ।
कलेजले सूचना प्रविधिको क्षेत्रमा भविष्य निर्माण गर्न इच्छुक विद्यार्थी तथा अभिभावकलाई कार्यक्रममा आवेदन दिन आग्रह गरेको छ। साथै, अनलाइन आवेदन भर्न तथा आवश्यक सहजीकरणका लागि कलेजको कार्यालयमा सम्पर्क गर्न सकिनेछ।