सुचना, समाचार र मनोरन्जन

विकास निर्माणमा बजेट रोक्का मुख्य अवरोधः घिसिङ

काठमाडौँ,

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा विकास खर्च कम देखिनुको मुख्य कारण सरकारी बजेट रोक्का भएको बताएका छन् ।

राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजको बैठकमा घिसिङले तीन मन्त्रालयअन्तर्गत मात्र रु एक खर्ब ९५ अर्ब बराबरको बजेट रोक्का हुँदा अधिकांश काम प्रभावित भएको स्पष्ट पारे । उनले सहरी विकास मन्त्रालयमा मात्र करिब रु ६१ अर्ब बजेट रोक्का भएको उल्लेख गर्दै प्रगति कम देखिएको बताए । पहिलो त्रैमासिकमा देखिएको प्रगति बजेट रोक्काको अवस्थामा सकारात्मक रुपमा लिनुपर्ने उनको भनाइ थियो ।

“रोक्का भएको बजेट घटाएर हेर्ने हो भने प्रगति प्रतिशत २० प्रतिशतभन्दा माथि पुग्छ । अहिले देखिएको कम खर्च वास्तविक कमजोरी होइन, रोकिएको बजेटकै प्रभाव हो,” घिसिङले भने, “पहिलो त्रैमासिकमा प्रगति सधैँ कम हुन्छ । त्यो माथि पनि यसपालि जेनजी आन्दोलनका कारणले धेरै प्रोजेक्टमा अगाडि बढ्न समस्या भयो ।”

बजेट रोक्कापछिको दोस्रो ठूला अवरोध जेनजी आन्दोलन र विभिन्न परियोजनास्थलमा काम बन्द हुनु रहेको घिसिङले बताए । यस्तै, कामै नगर्ने निर्माण व्यवसायीलाई कडाइका साथ कारबाही थालिएको उनले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.