काठमाडौं :
फिल्मको प्रचारप्रसार शैली फेरिदै जान थालेको छ। अधिकांश फिल्मको ट्रेलर रिलिज फिल्मको हल या क्याफेबा गरिदै आएको थियो। अब भने यो विस्तारै कम हुँदै,सिमित मिडियाबाट बाहिर आउन थालेको छ।
यही माघ २३ गते रिलिज हुन लागेको फिल्म ‘कुमारी’को ट्रेलर काठमाडौंको भृकुटीमण्डपस्थित खुला स्थानमा गरिएको छ। दश हजारभन्दा बढी दर्शकको प्रत्यक्ष उपस्थितिमा उक्त ट्रेलर रिलिज गरिएको निर्माण पक्षको दाबी छ। शनिबार साँझ ६ बजेपछि उक्त ठाउँमा ट्रेलर रिलिज गरिएको थियो।
दश दिन बाँकी छँदा निर्माण टिमले खुला आकाशमुनि हजारौँ दर्शक साक्षी राख्दै प्रत्यक्ष रूपमा ट्रेलर रिलिज गरेको हो। खुल्ला स्थानमा र मान्छेको भिडभाड हुने स्थानमा फिल्मको ट्रेलर सार्वजनिक हुँदा आफूले देखेको सपना पूरा भएको फिल्मका निर्देशक दिनेश राउत बताए। उनले यति ठुलो सङ्ख्यामा उपस्थित दर्शकको उत्साह अब सिनेमा घरसम्म पनि पुग्ने दाबी गरे। निर्माता महेन्द्र अधिकारीले दर्शकले दिएको मायाले आफूलाई निरन्तर फिल्म निर्माणमा सक्रिय रहन थप उर्जा मिलेको बताए।
ट्रेलर सार्वजनिक कार्यक्रममा निर्माण टिमले फिल्मका कलाकारलाई अगाडी सार्दै आएका छन। यस कार्यक्रममा फिल्म पाश्र्व गायक केहर सिं लिम्बु र उनको ब्यान्ड ’केहर एन्ड द लुङा’को विशेष प्रस्तुति रह्यो। साथै लोकप्रिय ब्यान्ड ’इस्त्रीज’ र ’त्रिजा प्रदान एन्ड द टुकुचा’ले पनि दर्शकलाई साङ्गीतिक प्रस्तुतिमार्फत झुमाएका थिए।
यही फिल्मबाट डेब्यु गरेका मुख्य कलाकारहरू अबिषेक खड्का र आकृति राजभण्डारीले हजारौँ दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्दै आफूहरूलाई दर्शकले दिएको स्वागतले अत्यन्तै पुलकित बनाएको बताए। दर्शकको उत्साह र तालीले उनीहरू भावुक देखिएका थिए। सार्वजनिक ट्रेलरले एक संवेदनशील र रोमाञ्चक प्रेमकथाको झलक प्रस्तुत गर्छ। प्रेमलाई केन्द्रमा राख्दै पारिवारिक सम्बन्ध, रोमान्स र मनोवैज्ञानिक अन्तद्र्वन्द्वहरूलाई ट्रेलरले प्रभावशाली ढङ्गले उजागर गरेको छ। दुई पात्रबीचको प्रेम, सङ्घर्ष र जीवनका भावनात्मक मोडहरू दृश्यहरू मार्फत गहिरो रूपमा व्यक्त गरिएको छ।
ट्रेलरमा देखिने पुरुष पात्र (अबिषेक खड्का) संवेदनशील, रिसाहा र परिस्थितिले थिचिएको युवक देखिन्छ। संवादभन्दा बढी हाउभाउ, आँखाको भाव र मौन अभिनयमार्फत प्रेमभित्रको असहायपनलाई सशक्त रूपमा प्रस्तुत गरिएको छ। ऊ प्रेममा पूर्ण समर्पित छ, तर समाज र परिस्थितिसँग निरन्तर सङ्घर्ष गरिरहेको सङ्केत ट्रेलरले दिन्छ।
त्यसै गरी महिला पात्र (आकृति राजभण्डारी) केवल प्रेमिका मात्र नभई आत्मसम्मान, मौन विद्रोह र भावनात्मक साहसको प्रतीकका रूपमा उभिएकी देखिन्छिन्। उनको आँखामा देखिने डर, मौनतामा लुकेको पीडा र निर्णयका क्षणमा देखिने कठोरताले पात्रलाई अझ बलियो बनाएको छ। ट्रेलरले फिल्म ‘हेर्नु मात्र होइन,महसुस गर्नुपर्ने कथा’ भएको अनुभूति गराउँछ।
कलाकारहरूको अभिनय, सङ्गीत, सिनेमाटोग्राफी र संवाद ट्रेलरमै उत्कृष्ट देखिएका छन्। दृश्य संयोजनले कथा र भावनालाई आकर्षक तरिकाले प्रस्तुत गर्दै दर्शकमा उत्साह र आशा जगाएको छ। शाहिल खानले सम्पादन गरेको यो ट्रेलर युट्युबको ट्रेन्डिङमा पुगिसकेको छ। कार्यक्रम उपस्थित भएका अभिनेता आर्यन सिग्देल र ‘शाम्बाला’अभिनेत्री थिन्ले ल्हामोले अबिषेक र आकृतिलाई शुभकामना दिए।
‘आइ एम सरी’बाट निर्देशन यात्रा सुरु गरेका निर्देशक दिनेश राउत ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता सफल प्रेमकथाका लागि चिनिन्छन्। पछिल्ला वर्षमा सामाजिक विषयमा केन्द्रित फिल्म ‘प्रसाद’,‘प्रकाश’,‘पुजार सार्की’ निर्देशन गरेका आएका राउतले दर्शकको रुचिअनुसार फेरि प्रेमकथामा फर्किएको बताए।
विनिश इन्टरटेन्मेन्टको ब्यानरमा महेन्द्र अधिकारीद्वारा निर्मित तथा विकास सुवेदीद्वारा लिखित यस फिल्ममा अबिषेक र आकृतिका साथै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनषा शर्मालगायत कलाकारको अभिनय रहेको छ। छायाङ्कन सुसन प्रजापतिले गरेको यो फिल्ममा सम्पादन तथा कलर ग्रेडिङ सुप्रिम पराजुलीको, साउन्ड डिजाइन उत्तम न्यौपानेको रहेको छ।
यसअघि सार्वजनिक भएका ‘डोको बुन्ने’,‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’ जस्ता गीतले व्यापक चर्चा पाइसकेको सन्दर्भमा ’कुमारी’को ट्रेलरले पनि दर्शकको अपेक्षा अझ बढाएको देखिन्छ।