सुचना, समाचार र मनोरन्जन

‘कुमारी’को अस्ट्रेलिया, अमेरिका, क्यानडा र मध्यपूर्व रिलिज अधिकारी बिक्री

काठमाडौं  : 

फिल्म ‘कुमारी’ को ओभरसिज प्रदर्शन अधिकार विभिन्न देशमा बिक्री भइसकेको छ। अस्ट्रेलिया, अमेरिका, क्यानडा र मध्यपूर्वका देशहरूमा प्रदर्शन अधिकार सुनिश्चित भइसकेको निर्माता महेन्द्र अधिकारीले जानकारी दिएका छन्।

अस्ट्रेलियामा असकास्ट नेपाल र थ्री केजी इभेन्ट्स, अमेरिकामा आत्रेय प्रोडक्सन र कोसेली कोडोराडो, क्यानडामा मेरो इभेन्ट्स, तथा मध्यपूर्वका देशहरूमा नेपफिल्मले फिल्म रिलिज गर्नेछन्।

निर्माता अधिकारीका अनुसार, ट्रेलरले पाएको उत्साह र दर्शकको सकारात्मक प्रतिक्रिया हेर्दा अन्य देशहरूबाट समेत फिल्म प्रदर्शनका लागि निरन्तर माग आइरहेको छ। काठमाडौंको भृकुटीमण्डपमा दश हजारभन्दा बढी दर्शकको उपस्थितिमा ट्रेलर सार्वजनिक भएपछि फिल्मले स्वदेश तथा विदेशमा व्यापक सराहना पाइरहेको छ। ट्रेलरले छोटो समयमै युट्युब ट्रेन्डिङमा प्रवेश गर्दै करिब ८ लाख भ्युज प्राप्त गरिसकेको छ।

निर्देशक दिनेश राउतले दर्शकको अभूतपूर्व उपस्थितिमा ट्रेलर सार्वजनिक हुनु आफ्नो सपना पूरा भएको जस्तो अनुभव व्यक्त गर्दै यही उत्साह फिल्म हलसम्म पनि पुग्ने विश्वास व्यक्त गरेका छन्।

फिल्म ‘कुमारी’ बाट अबिषेक खड्का र आकृति राजभण्डारी मुख्य भूमिकामा डेब्यु गरेका छन्। उनीहरूसँगै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनषा शर्मा लगायत कलाकारको अभिनय रहेको छ।

विनिश इन्टरटेन्मेन्ट को ब्यानरमा निर्माण भएको फिल्मको कथा तथा पटकथा विकास सुवेदीले लेखेका हुन्। छायाङ्कन सुसन प्रजापति, सम्पादन र कलर ग्रेडिङ सुप्रिम पराजुली, साउन्ड डिजाइन उत्तम न्यौपानेले गरेका छन्। पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेन, कार्यकारी निर्माता केदार भुसाल हुन्।

फिल्मका गीतहरू ‘डोको बुन्ने’, ‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’ ले पहिले नै चर्चा बटुलिसकेका छन्। विशेषगरी ‘डोको बुन्ने’ गीतले ६० लाखभन्दा बढी भ्युज प्राप्त गरेको छ। गीतमा केहर सिंह लिम्बुको स्वर, संगीत सुमन तामाङ, शब्द सागर लामिछाने मगर र सुमन तामाङका हुन्।

प्रेमकथामा सफल पहिचान बनाइसकेका निर्देशक दिनेश राउतले सामाजिक विषयको फिल्मपछि पुनः प्रेम कथामा फर्किएका ‘कुमारी’ ले स्वदेश र विदेशका दर्शकको मन जित्ने विश्वास गरिएको छ।

Leave A Reply

Your email address will not be published.