सुचना, समाचार र मनोरन्जन

युवाको आवाज सुन्दै फिल्म ‘कुमारी’: सिनेमा, सङ्गीत र मिडियामा युवाको खोज

काठमाडौं :

माघ २३ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘कुमारी’ को टिमले “नेपाली फिल्म, सङ्गीत र मिडियाबाट युवा पुस्ताले के अपेक्षा राखेका छन् ?” भन्ने विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न क्याम्पसका विद्यार्थी तथा युवासहित करिब ५ सय जनाको उपस्थिति रहेको थियो।

कार्यक्रममा फिल्म ‘कुमारी’को टिमसँगै नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य तथा मदन पुरस्कार विजेता लेखक अमर न्यौपाने, सञ्चारकर्मी नरेश भट्टराई, निर्देशक दिनेश राउत, लेखक विकास सुवेदी, निर्माता महेन्द्र अधिकारी, गायक केहर सिंह लिम्बु तथा उनको ब्यान्डका सदस्यहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागी ३० जना युवाले नेपाली फिल्म, सङ्गीत र मिडियासम्बन्धी आफ्ना धारणा राखेका थिए। युवाहरूले यस्ता किसिमका कार्यक्रमले आफ्ना भावना खुलेर व्यक्त गर्न पाएकोमा खुसी व्यक्त गरे।

सहभागी युवाहरूले निर्देशक दिनेश राउतका अघिल्ला फिल्महरूको प्रशंसा गर्दै फिल्म जीवन बुझ्ने माध्यम भएको बताए। उनीहरूको भनाइ थियो, “हामी फिल्म हलमा समय बिताउन मात्र जाँदैनौँ। सिनेमाले हाम्रो संस्कृति देखाउनुपर्छ, मौलिकता हुनुपर्छ।”

युवाहरूले सामाजिक सञ्जाललाई प्रभावशाली माध्यमका रूपमा उल्लेख गर्दै कतिपय समीक्षामा अतिरञ्जना हुने गरेकोप्रति चिन्ता व्यक्त गरे। नेपाली फिल्म आफूहरूले अपेक्षा गरेअनुसारको स्तरमा नपुगेको भन्दै राम्रो फिल्म हेर्न विदेशी फिल्मतर्फ आकर्षित हुनुपरेको गुनासो पनि उनीहरूले व्यक्त गरे।

सङ्गीततर्फ युवाको अपेक्षा स्पष्ट रहेको उल्लेख गर्दै सहभागीहरूले भने, “गीतमा हिरो–हिरोइनको लुक्सभन्दा पनि भावना हुनुपर्छ। सङ्गीत मनोरञ्जनका लागि मात्र होइन, जीवनसँग जोडिन सक्नुपर्छ।” फिल्म ‘कुमारी’को चर्चित गीत ‘डोको बुन्ने’ ले सङ्गीतको मौलिक ‘एसेन्स’ बोकेको भन्दै युवाहरूले प्रशंसा गरेका थिए।

‘कुमारी’का कलाकार अभिषेक खड्काले आफू पनि पश्चिमा फिल्मबाट बढी प्रभावित रहे पनि पछिल्लो समय नेपाली फिल्मले उल्लेखनीय फड्को मारेकोमा खुसी व्यक्त गरे। उनले आफूले डेब्यु गरेको फिल्म ‘कुमारी’ पछिल्लो पुस्ताले खोजेजस्तै भएको भन्दै ढुक्क भएर फिल्म हेर्न आग्रह गरे।

सञ्चारकर्मी नरेश भट्टराईले युवालाई मिडिया तथा सामाजिक सञ्जालमा देखिने सबै कुरामा सजगतापूर्वक बुझेर मात्र विश्वास गर्न आग्रह गरे। लेखक अमर न्यौपानेले साहित्य र फिल्मबीचको सम्बन्ध स्पष्ट पार्दै भने, “किताब कलमले लेखिएको साहित्य हो भने, फिल्म क्यामेराले लेखिएको साहित्य हो।”

फिल्मका लेखक विकास सुवेदीले युवामा बढ्दो निराशा देशका लागि घातक हुन सक्ने बताए। उनले फिल्म ‘कुमारी’ले केही हदसम्म भए पनि नेपाली फिल्मप्रतिको निराशा हटाउने दाबी गर्दै भने, “आवरण धेरैको मिल्न सक्छ, तर भित्री कुरा फरक हुन्छ। ‘कुमारी’ पनि सामान्य प्रेमकथा होइन। बाहिर देखिएजस्तो मात्र यो फिल्म होइन।”

निर्देशक दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘कुमारी’बाट अभिषेक खड्का र आकृति राजभण्डारीले मुख्य भूमिकामा डेब्यु गरेका छन्। उनीहरूसँगै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनषा शर्मालगायत कलाकारहरूको अभिनय रहेको छ।

विनिश इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मको कथा तथा पटकथा विकास सुवेदीले लेखेका हुन्। छायाङ्कन सुसन प्रजापति, सम्पादन तथा कलर ग्रेडिङ सुप्रिम पराजुली, साउन्ड डिजाइन उत्तम न्यौपानेले गरेका छन्। पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेनको रहेको छ भने कार्यकारी निर्माता केदार भुसाल हुन्।

फिल्मका गीतहरू ‘डोको बुन्ने’, ‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’ ले दर्शकमाझ राम्रो चर्चा पाइसकेका छन्। विशेषगरी ‘डोको बुन्ने’ गीतले ७२ लाखभन्दा बढी भ्युज प्राप्त गरिसकेको छ। फिल्मका सबै गीतमा गायक केहर सिंह लिम्बुको स्वर रहेको छ।

प्रेमकथामा सफल पहिचान बनाइसकेका निर्देशक दिनेश राउत सामाजिक विषयपछि पुनः प्रेम कथामा फर्किएको फिल्म ‘कुमारी’ ले स्वदेश तथा विदेशका दर्शकको मन जित्ने निर्माण पक्षको विश्वास रहेको छ।

Leave A Reply

Your email address will not be published.