काठमाडौं :
नेपालमा सफल प्रदर्शनरत नेपाली फिल्म ‘कुमारी’ भोलि (१२ फेब्रुअरी)देखि अस्ट्रेलिया र मध्यपूर्वका विभिन्न देशमा आधिकारिक रूपमा रिलिज हुने भएको छ। नेपालमा समीक्षक र दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको फिल्म अब अन्तर्राष्ट्रिय बक्स अफिसमा उत्रिन लागेको हो।
अस्ट्रेलियामा थ्री केजी इभेन्ट्स र असकास्ट नेपालले वितरण गरेको ‘कुमारी’का शो तालिका सार्वजनिक भइसकेका छन्। न्यू साउथ वेल्सको बरउड, हर्नस्बी, हर्स्टभिल र पारामान्टा, भिक्टोरियाको भिलेज सिनेमा सनसाइन र एयरपोर्ट वेस्ट, क्विन्सल्याण्डको इभेन्ट सिनेमा चेर्मासाइड, एडिलेडको इभेन्ट सिनेमा म्यारियन, तस्मानियाको भिलेज सिनेमा ग्लेनर्ची तथा पर्थको इभेन्ट सिनेमा इनालुमा फिल्म प्रदर्शन हुनेछ। अन्य सहरमा पनि क्रमशः रिलिज गरिने जनाइएको छ।
मध्यपूर्वतर्फ नेपफिल्मको व्यवस्थापनमा युएई, बहराइन र कतारका प्रमुख सहरहरूमा ‘कुमारी’ प्रदर्शनमा आउनेछ। निर्माता महेन्द्र अधिकारीका अनुसार अस्ट्रेलिया र मध्यपूर्वपछि अमेरिका र क्यानडामा पनि रिलिजको तयारी अन्तिम चरणमा पुगेको छ। अमेरिकामा आत्रेय प्रोडक्सन र कोसेली कोडोराडो तथा क्यानडामा मेरो इभेन्ट्समार्फत फिल्म प्रदर्शन गरिनेछ।
दिनेश राउत निर्देशित ‘कुमारी’बाट अबिषेक खड्का र आकृति राजभण्डारीले अभिनयमा डेब्यु गरेका छन्। विकास सुवेदीको लेखन रहेको फिल्मको ‘डोको बुन्ने’ गीत चर्चामा छ। विनिश इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको ‘कुमारी’ले जीवनका जटिल परिस्थितिसँग जुधिरहेकी एक युवतीको प्रेमकथा प्रस्तुत गर्छ।