काठमाडौं :
गत फागुन १४ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘लाज शरणम्’ले ५१औँ दिन मनाएको छ। शिवरात्रिको अवसर पारेर रिलिज भएको यो फिल्मले आजबाट ५१औँ दिनमा प्रवेश गरेको हो।
यो फिल्मले देशभरका १३ वटा हलमा ५१ औँ दिनमा प्रदर्शनरत छ। जेपीटी क्रिएसनको ब्यानरमा निर्माण भएको ‘लाज शरणम्’ले काठमाडौँ उपत्यकाका क्युएफएक्स, आइएनआई सिनेमाज, एफक्युब सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, विग मुभिज, सिडिसी सनेमा र मोफसलमा झापाको विर्तामोडमा रहेको क्युएफएक्स, दमकमा रहेको डिम्याक्स सिनेमाज र बुटवलमा रहेको आइएनआई सिनेमाजमा प्रदर्शनको ५१ औँ दिन पूरा गरेको निर्माता नवीन श्रेष्ठले जानकारी दिए।
उनले मिडियासँगको कुराकानीमा पहिलो दिन एक करोड १० लाख रुपैयाँ ग्रसकलेक्सन गरेको ‘लाज शरणम्’ले हालसम्म ५ करोड रुपैयाँ ग्रसकलेक्सन गरेको निर्माता बताए। फिल्ममा सिताराम कट्टेल, महेश त्रिपाठी, विजय बराल, अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिश निरौला (कक्रोज), रेणु योगी, अर्पण थापा मुख्य भूमिकामा छन्।
त्यस्तै, फिल्ममा कमलमणी नेपाल (खुपीका बाउ), मुकुन्द श्रेष्ठ, माला लिम्बुसँगै प्रियाना आचार्य (मुन्नी),बबिन राई (गल्फने बाजे), रामभजन कामतलगायत कलाकारको अभिनय छ। कर्णालीको कथाव्यथा प्रस्तुत गरेको ुलाज शरणमुलाई कुमार कट्टेलले निर्देशन गरेका हुन्। सुदीप बराल छायांकार रहेको फिल्मको सहनिर्माता राम नरेश शाह र सिर्जना खड्का छन्।