पोखरा/
लेकसिटी कलेज एण्ड रिसर्च सेन्टर पोखराले शनिबार कार्निभल आयोजना गरेको छ । पोखरा ४ गैहपाटनमा रहेको कलेज परिसरमा तेस्रो लेकसिटी कार्निभल कार्यक्रममा आयोजना गरिएको हो । खुला सडकमा नाँच्ने, खाने, गाउने र रमाइलो गर्ने गरी आयोजना गरिने कार्निभल कार्यक्रम लेकसिटीले पछिल्ला वर्षहरुमा नियमित रुपमा गर्दै आएको छ ।
कलेज संचालक समितिका अध्यक्ष प्रा डा विश्वकल्याण पराजुलीले सो कार्निभल कार्यक्रमको शुभारम्भ गरेका थिए । कलेज परिसरको खेल मैदानमा सांस्कृतिक कार्यक्रमका लागि मूख्य मञ्च सहित विभिन्न ११ वटा स्टलहरु राखिएका थिए । ती स्टलहरुमा स्थानीय उत्पादनहरु मह, अचार, सातु, कपडाका झोला, हस्तकला, सजावट र सौन्दर्य सामाग्री लगायतको प्रदर्शनी र बिक्री गरिएको थियो ।
त्यसैगरी खानाका परिकारहरु सेलरोटी, तरकारी, अचार, मम, चाउमिन पानीपुरी, चटपट पनि राखिएका थिए । कलेजमा अध्ययन गरिरहेका र पूर्वविधार्थीहरु आँफैले ती स्टलहरुको संचालन गरेको क्याम्पस प्रमूख प्रमूख नारायण श्रेष्ठले जानकारी दिए । कार्निभलमा सहभागीले विधार्थीहरुले पकाएका खानाका परिकार मीठो मानेर खाएका थिए । टेलिकम कम्पनी एनसेलले आफ्नो सेवासुविधाबारे कार्निभलमा सहभागीलाई जानकारी दिन स्टल राखेको थियो । कलेजमा अध्ययनरत विधार्थी र प्राध्यापकहरुलाई निशुल्क सिम वितरटा गरिएको एनसेलले जनाएको छ ।
कार्निभललाई थप मनोरञ्जक बनाउन कलेजका विधार्थीहरुले सांस्कृतिक कार्यक्रम आयोजना गरेका थिए । गायन, नृत्य, लाखेनाच सहितका सांगीतिक र सांस्कृतिक कार्यक्रमले कलेजको खुला मैदानमा जम्मा भएका सबैलाई मोहित पारेको थियो । कलेजकी पूर्वविधार्थी सपना गायकले कार्यक्रम संचालन गरेकी थिइन् । साँझ आयोजित कन्सर्टमा कर्खा र अपरिमित ब्याण्डको सांगीतिक प्रस्तुति थियो । कार्निभललाई विजय आभुषण र रोजिना अफसेट प्रेसले प्रायोजना तथा लिचीबोट पार्टीप्यालेस, लोटस युनिफर्म र हलमार्कले सहयोग गरेका थिए ।
आगामी वर्ष पनि यसप्रकारको कार्यक्रमलाई निरन्तरता दिने कलेजका सहायक क्याम्पस प्रमूख शोभाकान्त सिग्देलले बताए । कलेजले वार्षिक रुपमा विद्याथीहरुलाई शैक्षिक भ्रमण, खेलकूद प्रतियोगिता, रक्तदान कार्यक्रम, वृक्षरोपण, फिल्ड भ्रमण र वर्कसप कार्यक्रमहरु गर्दै आएको सहायक क्याम्पस प्रमूख सिग्देलको भनाइ छ । लेकसिटीले सामाजिक विज्ञान केन्द्रको मौलिक प्रस्तुतिका रुपमा हरेका महिना कचहरी कार्यक्रम गर्दै आइरहेको छ ।
त्रिविबाट सम्बन्धन प्राप्त सो कलेज विस २०६४ सालमा पोखराका स्थानीय प्रवुद्ध व्यक्तिहरुबाट स्थापना गरिएको हो । कलेजमा स्नातक तहअन्तर्गत बिबिएस, बिएएसडब्लू (समाजसेवा) र बिएमा समाजशास्त्र, पत्रकारिता तथा आमसंचार र अंग्रेजी साहित्यको पठनपाठन हुँदै आएको छ । वार्षिक सय जना विधार्थी भर्ना गर्ने क्षमता रहेको कलेजमा हाल ३ सय ५० जना अध्ययनरत रहेको क्याम्पस प्रमूख श्रेष्ठले जानकारी दिए । गुणस्तरीय र व्यावहारिक शिक्षामा आफूहरुले जोड दिंदै आएको कलेजको दाबी छ । शैक्षिक उत्कृष्टता र खेलकूदमा लोभलाग्दो सफलता प्राप्त गर्न कलेज सफल भएको छ । हालै प्रकाशित स्नातक तहको नतिजामा डिस्टिङ्सनसहितको उच्च दरको सफलता लेकसिटीले पाएको छ । यसैगरी १७ ओें हिसान कास्की स्पोर्टमिट २०८१ मा बास्केट बलतर्फ छात्र र छात्रा दुबैमा प्रथम स्थान प्राप्त गरेको छ ।