काठमाडौं :
वादी समुदायको पृष्ठभूमिमा आमा-छोरीको कथा समेटिएको फिल्म ‘लालीबजार’ले बक्स अफिसमा बलियो पकड जमाएको छ। सुरुवाती चरणमा कथावस्तुलाई लिएर केही आशंका र विवाद देखिए पनि सेन्सर बोर्डबाट ‘युनिभर्सल’ सर्टिफिकेट पाएसँगै फिल्मप्रति दर्शकको दृष्टिकोणमा परिवर्तन आएको छ। हाल हलहरूमा तीन पुस्ताका परिवार एकसाथ बसेर फिल्म हेरिरहेका भेटिन्छन्।
निर्माता म्याक्स दिपेश खत्रीका अनुसार फिल्मले प्रदर्शनको छैटौं दिन बुधबारसम्म देशभर २ करोड ४० लाख रुपैयाँ ग्रस कमाइ गरिसकेको छ। १८८ शोजबाट सुरु भएको फिल्मको माग बढेपछि बिहीबार शोज संख्या २५० हाराहारी पुगेको निर्माण पक्षले जनाएको छ। फिल्मको व्यापार सुरुवाती दिनको तुलनामा पछिल्ला दिनहरूमा दोब्बरले वृद्धि हुँदै गएको छ। बुधबार मात्रै २१ हजारभन्दा बढी दर्शकले फिल्म हेरेका छन्।
निर्देशक तथा लेखक यम थापाले फिल्मबारे बाहिर गरिएका अड्कलबाजी हलमा पुगेर फिल्म हेरेपछि स्पष्ट हुने बताए। फिल्ममा अभिनेत्री स्वस्तिमा खड्काले निर्वाह गरेको आमाको भूमिका र छोरीको शिक्षाका लागि उनले गरेको संघर्षलाई दर्शकले निकै मन पराएका छन्। स्वस्तिमाका साथै बालकलाकार समाइरा थापा, नकारात्मक भूमिकामा देखिएका रवीन्द्रसिंह बानियाँ र अभयराज बरालको अभिनयको पनि तारिफ भइरहेको छ।
यसै फिल्ममार्फत डेब्यु गरेका विशाल देवकोटा र प्रशंसा सुवेदीको कामलाई पनि दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन्। दर्शकले फिल्मलाई पूर्ण पारिवारिक फिल्म भन्दै प्रशंसा गरिरहेका छन्। म्याक्स दीपेश खत्रीको निर्माण तथा प्रदीप भट्टराई कार्यकारी निर्माता रहेको यस फिल्मलाई यम थापाले निर्देशन गरेका हुन्। फिल्ममा मुकुन्दकुमार श्रेष्ठ, प्रेम पाण्डे, आशा पौडेल लगायतका कलाकारहरूको समेत अभिनय रहेको छ।