काठमाडौँ :
स्वस्तिमा खड्का, आँचल शर्मा, नीति शाह र मिस नेपाल श्रीच्छा प्रधानसहित नेपाली फिल्म र मोडलिङ क्षेत्रका १८ चर्चित सेलिब्रेटीहरू एउटै स्टेजमा देखिने भएका छन्। दरबारमार्गस्थित होटल याक एण्ड यतीमा शुक्रबार साँझ आयोजना हुन लागेको ‘आईईसी डिजाइनर रनवे–१५’ मा यी सेलिब्रेटीहरूले आकर्षक पहिरनका साथ र्याम्पवाक गर्ने भएका हुन्।
उक्त फेसन शोमा स्वस्तिमा, आँचल, नीति र श्रीच्छाका साथै अस्मी श्रेष्ठ, शिल्पा मास्के, कविता नेपाली, हिमान्चल राज केसी, आस्था पोखरेल, सबिता कार्की, इभा गिरी, आना शर्मा, मलिका महत, अदीति अधिकारी, दीपशिखा नेपाल र प्रेमा लमगाडे लगायतका चर्चित व्यक्तित्वहरूको उपस्थिति रहनेछ।
आईईसी कलेजको आयोजनामा हुन लागेको यस भव्य समारोहमा ६६ जनाभन्दा बढी डिजाइनरहरूले तयार पारेका १७ वटा विभिन्न आकर्षक फेसन सिक्वेन्सहरू प्रदर्शन गरिनेछ। शोमा ३० जना व्यावसायिक मोडलहरूले समेत आफ्नो प्रस्तुति दिनेछन्।
भारतका चर्चित कोरियोग्राफर यतिन गान्धीले कोरियोग्राफी गर्ने यस शोको व्यवस्थापन नेक्स्ट मोडल्स नेपालले गरिरहेको छ। नेक्स्ट मोडल्स नेपालका सीईओ रवि धमलाले ‘आईईसी डिजाइनर रनवे–१५’ लाई अहिलेसम्मकै उत्कृष्ट फेसन शोको रूपमा प्रस्तुत गर्ने तयारी भइरहेको बताए।
नेपाली फेसन जगतलाई नयाँ उचाइ दिने र नेपाली डिजाइनरहरूको कलालाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको यस कार्यक्रमले फेसन प्रेमीहरूको विशेष ध्यान तान्ने अपेक्षा आयोजक आईईसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले व्यक्त गरेकी छन्।