सुचना, समाचार र मनोरन्जन

गीतले तान्दै ‘लालीबजार’ : ‘मायालाई के दिऊँ म बैना’को भाइरल लहरले फिल्मलाई फाइदा

काठमाडौं :

नेपाली फिल्मको प्रचारमा गीतसंगीतको प्रभावकारिता फेरि एकपटक पुष्टि भएको छ। वर्षभर थोरै मात्र फिल्मी गीतले दर्शकको मन जित्ने गरेको सन्दर्भमा अहिले फिल्म ‘लालीबजार’को ‘मायालाई के दिऊँ म बैना’ गीतले असाधारण चर्चा बटुलेको छ। यो गीतले छोटो समयमा नै ६० लाख नजिक दर्शक कमाई गरेको छ।

दुई साताअघि सार्वजनिक भएको यो गीत सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको छ। विशेषगरी टिकटकमा करिब ४ लाख भिडियो निर्माण भइसकेका छन् भने युट्युब सर्ट्स, फेसबुक र इन्स्टाग्राम रिल्समा पनि यसको व्यापक प्रयोग देखिन्छ।

लोकभाकामा आधारित गीतले युट्युबमा समेत उल्लेखनीय प्रदर्शन गरेको छ। सार्वजनिक भएको १३ दिनमै ५८ लाख ५६ हजारभन्दा बढी भ्युज पाएको गीतले दर्शकबाट सकारात्मक प्रतिक्रिया बटुलेको छ। भाकादेखि कोरियोग्राफीसम्म प्रशंसा पाएको गीतमा अभिनेत्री स्वस्तिमा खड्का र बाल कलाकार समाइरा थापाको नृत्य विशेष रूपमा रुचाइएको छ।

गीतको लोकप्रियतालाई अझ बढाउन फिल्म टिमले रणनीतिक रूपमा कलाकार सहकार्यलाई अघि बढाएको छ। अभिनेत्री वर्षा राउत र नृत्यांगना तेरिया फौजा मगरसँग स्वस्तिमालाई जोड्दै बनाइएका भिडियोहरूले गीतलाई थप भाइरल बनाउन सहयोग पुर्‍याएका छन्।

फिल्ममा स्वस्तिमासहित समाइरा, रवीन्द्रसिंह बानियाँ, मुकुन्द श्रेष्ठ, विशाल देवकोटा, प्रशंसा सुवेदी, अभय बराल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल र तारा शर्माको अभिनय रहेको छ। यम थापाको निर्देशनमा बनेको फिल्ममा कथा स्वयं निर्देशकको रहेको छ भने पटकथा तथा संवाद यम र प्रदीप भट्टराईले लेखेका हुन्। गीतको यो ‘भाइरल पावर’लाई फिल्मले बक्स अफिसमा कति रूपान्तरण गर्न सक्छ भन्ने अबको मुख्य चासो बनेको छ।

Leave A Reply

Your email address will not be published.