सुचना, समाचार र मनोरन्जन

लामाचौर तीज महोत्सवको तयारी तिब्र

पोखरा,
लामाचौर पोखरामा हुने तीज महोत्सवको तयारी तिब्र पारिएको छ।
पोखरा आसपासमा हुने विभिन्न मेला महोत्सव भन्दा केही पृथक हुने यस महोत्सवलाई सफल र भव्य बनाउन गठित मुल समिति र विभिन्न २२ वटा उपसमितिले तयारीलाई तिब्रता दिएको पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिईयो। नेपाली नारीको सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा यही भदौ ८ गते देखि १० गतेसम्म लामाचौरको ईन्द्रराज्य लक्ष्मी माविको प्राङ्गणमा महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष इन्जिनियर दिनेश भण्डारीले जानकारी दिए।महाेत्सवमा अन्तर समूह तीज गीत प्रतियाेगिता, लामाचाैर कप खुल्ला पुरुष तथा अन्तर मावि छात्रा भलिबल प्रतियाेगिता,अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता, श्रष्ट्रा सम्मान तथा छात्रवृत्ति प्रदान सहित राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांस्कृतिक प्रस्तुति रहने बताइएको छ।विगत ११ वर्ष देखि हुदै आएको राष्ट्रिय महिला भलिबल भने यस वर्ष नहुने भएको छ। आर्थिक असहजता, टिम सहभागीतामा कमि र खेल संबद्ध संघ संस्थाको उपेक्षाका कारण यस पटक राष्ट्रिय महिला भलिबल आयोजना गर्न नसकिएको बताईएको छ।

राष्ट्रिय खेलकै झल्को दिने गरी रारा लामाचौर कप’ खुल्ला पुरुष भलिबल र पोखरा एक्सपर्ट एजुकेशन लामाचौर कप अन्तर मा.वि भलिबल प्रतियोगितालाई थप व्यवस्थित गरिएको निवर्तमान अध्यक्ष स्वागत मानसिंह भण्डारीले जानकारी दिए। पुरूष भलिबलमा प्रथमले ३ लाख १ सय ११, द्वितीयले १ लाख ५० पचास हजार १ र सर्वोत्कृष्ट खेलाडीलाई १० हजार तथा उत्कृष्ट विधामा आकर्षक पुरस्कार प्रदान गरिने छ भने मा.वि भलिबल प्रतियोगितामा प्रथमले १ लाख १ सय ११, द्वितीयले ५० हजार १ सय ११ र सर्वोकृष्ट खेलाडीलाई ५ हजार तथा उत्कृष्ट बिधामा आर्कषक पुरस्कार प्रदान गरिनेछ ।

त्यस्तै तीज गीत प्रतियोगितामा प्रथमले ५० हजार १ सय ११, द्वितीयले ३० हजार १ सय ११, तृतीयले २० हजार १ सय ११ र सान्त्वना पुरस्कार १० हजार १ सय ११ प्राप्त गर्ने छन् । सहभागि टिमहरुलाई प्रोत्साहन स्वरुप नगद २ हजार प्रदान गरिने छ ।अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता अन्तर्गत प्रथम पुरस्कार नगद ४० हजार १ सय ११. द्वितीय पुरस्कार नगद २५ हजार १ सय ११, तृतीय पुरस्कार नगद १५ हजार १ सय ११, सान्त्वना ३ टिमलाई ५ हजार १ सय ११ र उत्कृष्ट भेषभुषालाई नगद ५ हजार १ सय ११ प्रदान गरिने प्रचार प्रसार संयोजक बिष्णु प्रसाद गौतमले बताए। हालसम्म पुरूष भलिबलमा ६ वटा र अन्तर मावि भलिबलमा ११ टिम दर्ता भएको र यो संख्या बढ्ने सक्ने समाजले जनाएको छ। महोत्सवमा औद्योगिक तथा व्यापारिक ५० स्टल, बालउद्यान, स्रष्टा सम्मान, कलाकारको दैनिक प्रस्तुति लगायत विविध मनोरञ्जनात्मक एवं सांस्कृतिक कार्यक्रम हुने अध्यक्ष भण्डारीले जानकारी दिए ।यस्तै, लोकदोहोरी कलाकारहरु प्रकाश दुतराज, जानकी तारामी मगर, रीता थापामगर, शिव हमाल, श्रीदेवी देवकोटा, दीपक खड्का, प्रजापति पराजुली, रामजी पौडेल, माया गुरुङ, लक्ष्मी नेपाली लगायतको प्रस्तुति रहने छ ।

महोत्सव आयोजना गर्न करिब ४५ लाख खर्च हुने आयोजकको अनुमान छ । महोत्सवबाट बचत रकम आकस्मिक सेवा तथा तीज महोत्सव संचालन कोष बृद्धिमा थप गरिने अर्थ संकलन उपसमिति संयोजक कमल थापाले बताए । खेल कार्यक्रम भदौ ७ गतेबाट सुरु हुने भएपनि औपचारिक उद्घाटन भदाै ८ गते हुने बताइएको छ। महोत्सवको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गर्नु हुने र भदौ १० गते गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाको प्रमुख आतिथ्यतामा समापन गरिने बताईएको छ।

अध्यक्ष दिनेश भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष स्वागतमान सिंह भण्डारी, नवीन भण्डारी, बुद्धिबहादुर खत्री क्षत्री, प्रचारप्रसार संयोजक विष्णुप्रसाद गौतम लगायतले महोत्सवको तयारीका बारेमा बोलेका थिए । स्वागत द्वितीय उपाध्यक्ष हरिबहादुर थापा र संचालन सचिव शोभा बानियाँले गरेकी थिइन् ।

यसैबीच, लामाचौरको सरस्वती आदर्श विद्याश्रमले एम्बुलेन्स संचालन सहयोगार्थ समाजलाई नगद १० हजार सहयोग गरेको छ । प्राचार्य कृष्ण गुरुङले उक्त रकम अध्यक्ष भण्डारीलाई हस्तान्तरण गरेका हुन् । विद्यालयले वर्षेनि सहयोग गर्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.