पोखरा,
गण्डकी प्रदेश सरकार, प्रेस रजिष्ट्रारको कार्यालयले प्रदेशमा क्रियाशील पत्रकारहरूको वृत्ति विकास र खोजमूलक पत्रकारितालाई प्रोत्साहन गर्न पहिलो पटक ‘पत्रकार लेखन वृत्ति फेलोसिप ‘ कार्यक्रम सार्वजनिक गरेको छ। आम सञ्चार विधेयक पारित भई प्रेस रजिष्ट्रारको कार्यालय स्थापना भएपछि प्रदेशका सञ्चारकर्मीहरूका लागि यो प्रकारको प्राज्ञिक र प्रोत्साहनमूलक कार्यक्रम पहिलो पटक लागू गरिएको हो।
लेखन वृत्तिमा सहभागी हुन चाहने पत्रकार गण्डकी प्रदेशभित्रको सञ्चार माध्यममा कार्यरत हुनुपर्नेछ। यदि कुनै संस्थामा आबद्ध नभएको खण्डमा गण्डकी प्रदेशमा विगत तीन वर्षदेखि क्रियाशील रहेको स्वतन्त्र पत्रकार हुनुपर्ने कार्यविधिमा उल्लेख छ।
प्रेस रजिष्ट्रार विमला भण्डारीका अनुसार, आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक विकास कार्यक्रम र पत्रकार लेखन वृत्ति कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८२ बमोजिम यो फेलोसिप प्रदान गर्न लागिएको हो। चैत्र २२ गते कार्यालयको वेबसाइटमार्फत सार्वजनिक गरिएको सूचना अनुसार इच्छुक पत्रकारहरूले १५ दिनभित्र रीतपूर्वक आवेदन दिन सक्नेछन्।
प्रेस रजिष्ट्रार भण्डारीले यस कार्यक्रममा सबै प्रकारका सञ्चार माध्यममा कार्यरत पत्रकारहरूलाई समेट्न खोजिएको जानकारी दिइन ।हामीले छापा, रेडियो, टेलिभिजन, अनलाइन र फोटो पत्रकारिता गरिरहेका सबै विधाका साथीहरूलाई यसमा अवसर दिएका छौँ,” भण्डारीले भनिन, “यसले मोफसलमा रहेर खोजमूलक र अनुसन्धानमूलक सामग्री उत्पादन गर्न चाहने पत्रकारहरूलाई ठूलो मद्दत पुग्नेछ।”
लेखन वृत्तिमा सहभागी हुन चाहने पत्रकार गण्डकी प्रदेशभित्रको सञ्चार माध्यममा कार्यरत हुनुपर्नेछ। यदि कुनै संस्थामा आबद्ध नभएको खण्डमा गण्डकी प्रदेशमा विगत तीन वर्षदेखि क्रियाशील रहेको स्वतन्त्र पत्रकार हुनुपर्ने कार्यविधिमा उल्लेख छ। निवेदनका साथमा संलग्न गर्नुपर्ने कागजातहरूमा कार्यविधिको अनुसूची-१ बमोजिमको निवेदन, कार्यक्षेत्र, अनुभव र जिम्मेवारी खुल्ने विवरण, लेखन तथा प्रसारण गर्न चाहेको विषयको ३०० शब्दसम्मको अवधारणा, पत्रकार परिचयपत्रको प्रतिलिपि स्वतन्त्र पत्रकारको हकमा ३ वर्ष क्रियाशील रहेको प्रमाण, नागरिकता र स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि ।

छनोट भएका पत्रकारले कार्यविधिले तोकेको समयभित्र खोजमूलक सामग्री तयार गरी प्रकाशन वा प्रसारण गर्नुपर्नेछ। छापा तथा अनलाइनका लागि: कम्तीमा २,००० शब्दको आलेख रिपोर्ट। रेडियोका लागि: कम्तीमा १० मिनेटको अडियो सामग्री।टेलिभिजनका लागि:कम्तीमा १५ मिनेटको भिडियो रिपोर्ट।फोटो पत्रकारिताका लागि: एकै विषयमा कम्तीमा १५ वटा तस्बिर कथा।यो कार्य सम्पन्न गरेबापत प्रति व्यक्ति बढीमा २५,००० रुपैयाँ नियमअनुसार कर कट्टा गरी प्रदान गरिने कार्यालयले जनाएको छ।
फेलोसिपका लागि प्राप्त आवेदनहरूमध्येबाट समावेशिताको सिद्धान्तलाई समेत आधार मानी विज्ञहरूको छनोट समितिले उत्कृष्ट प्रस्तावकहरूलाई छनोट गर्नेछ। आवेदनहरू कार्यालयमा प्रत्यक्ष उपस्थित भई वा कार्यालयको इमेल मार्फत बुझाउन सकिनेछ।थप जानकारीका लागि कार्यालयको फोन नम्बर वा मोबाइल नम्बरमा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ। प्रेस रजिष्ट्रारको कार्यालयले चालेको यो कदमले गण्डकी प्रदेशको पत्रकारितालाई अझ गुणस्तरीय र उत्तरदायी बनाउने अपेक्षा सञ्चारकर्मीहरूले गरेका छन्।