सुचना, समाचार र मनोरन्जन

लोकतन्त्र दिवसको दिन पूर्वराजाको पोखरा भ्रमणमा आउँदै

पोखरा,

आज २० औं लोकतन्त्र दिवस । तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासन अन्त्य भई देशमा लोकतन्त्र स्थापना दिन । संयोग यस्तो परेको छ कि राजतन्त्र अन्त्य भएको ठिक दुई दशकपछि आफूले शासनसत्ता सुम्पिएकै दिन पारेर पूर्वराजा ज्ञानेन्द्र काठमाडौं बाहिर निस्किँदैछन् ।

देशमा भएको जेनजी आन्दोलनको जगमा राष्ट्रिय स्वतन्त्र पार्टीकको झण्डै दुईतिहाइको बहुमतसहित बालेन्द्र शाह नेतृत्वको सरकार बनेपछि ज्ञानेन्द्र पहिलो पटक भ्रमणमा निस्किएका छन् ।

राजदरबार छाडेर देशको लोकतन्त्र आएको दिन पारेरै पूर्वराजा आज पोखरामा भ्रमणमा आउन लागेका हुन् ।

तत्कालीन राजा ज्ञानेन्द्र शाहले विघटित प्रतिनिधिसभाको पुनस्स्थापना गर्दै राजनीतिक दलले कोरेको मार्ग चित्रअनुसार अगाडि बढ्ने घोषणा गरेकै दिन उनले सक्रियता बढाउन लागेको उनको भ्रमण व्यवस्थापन समितिको भनाइ छ ।

‘यसपटकको भ्रमण अर्थपूर्ण’

भ्रमण व्यवस्थापन समितिका सदस्य अर्जुन खनालले पूर्वराजाको यसपटकको भ्रमण अर्थपूर्ण रहेको बताए ।

पूर्वराजा कम्तिमा २ हप्ता पोखरा बस्ने यसपटकको भ्रमणबाट राजनीतिक हिसाबले पनि सन्देश दिने उनले बताए ।

२०८१ माघ २७ गते पोखरा भ्रमणमा आएका ज्ञानेन्द्र २ साता बसेर फर्किँदा राजावादीहरुले काठमाडौं विमानस्थलमा ठूलो शक्ति प्रदर्शन गर्दै स्वागत गरेका थिए ।

बिहान साढे १० बजे ज्ञानेन्द्र पोखरा आउने कार्यक्रम रहेको सुरक्षा स्रोतले जनाएको छ ।

केशव भण्डारीको संयोजकत्वमा पूर्वराजा ज्ञानेन्द्रको भ्रमण व्यवस्थापन समिति बनेको खनालले जानकारी दिए ।

ज्ञानेन्द्र शाह कम्तिमा २ हप्ता पोखरा बस्ने

पूर्व राजा ज्ञानेन्द्र कम्तिमा २ हप्ता पोखरा बस्ने कार्यक्रम छ । पूर्वराजाले पोखरा बसाइँका क्रममा धार्मिक मठमन्दिरको दर्शनदेखि यसपटक राजनीतिक भेटघाटसमेत गर्ने स्रोतले जनाएको छ ।

पोखरा लेकसाइडमा भर्खरै निर्माण सकिएको सोल्टी होटलमा पूर्वराजा ज्ञानेन्द्र बस्ने छन् । पोखरामा यसअघि पेनेन्सुला होटल सञ्चालन गरेका खेम ढकालले लेकसाइडमै निर्माण गरेको होटल पाँचताले होटल सोल्टी ग्रुपले व्यवस्थापन तथा सञ्चालन हेरेको छ।

पूर्वराजा ज्ञानेन्द्र त्यही होटलमा बसेर पोखराका विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्तालाईसमेत भेटघाट गरेर यसपटक राजनीतिक सन्देशसमेत दिने उनीनिकट स्रोतले जानकारी दिएको छ ।

‘नेपाली कांग्रेसभित्र ठूलो शक्ति हिन्दुराज्य र राजसंस्थाको वकालत गरिरहेको छ । पूर्वराजाले यसपटक कांग्रेसका त्यस्ता नेताहरुलाई पनि भेट्नु हुनेछ । एमालेका नेता र माओवादीकै पूर्व नेताहरुसँग पनि भेट्ने कार्यक्रम छ,’ ज्ञानेन्द्रको भ्रमण व्यवस्थापन दलका एक सदस्यले भने ।

पूर्वराजा ज्ञानेन्द्र आज सोल्टी होटलमा बस्ने र औपचारिक कार्यक्रम पनि नभएको सचिवालयले जनाएको छ । उनको पोखरा भ्रमणलाई लिएर सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ ।

Leave A Reply

Your email address will not be published.