सुचना, समाचार र मनोरन्जन

दसैँको अवधिमा लुम्बिनीमा बढे पर्यटक

बुटवल,

बुद्ध जन्मस्थल लुम्बिनीमा यस वर्षको दसैँ अवधिमा गत वर्षको तुलनामा पर्यटक आगमन ५४ प्रतिशतले बढेको छ ।

लुम्बिनी विकास कोषको तथ्यांकअनुसार गत वर्षको तुलनामा यस वर्ष नेपाली, भारतीय तथा तेस्रो मुलुकका पर्यटकको आगमन बढेको हो ।

कोषको सूचना, जनसम्पर्क तथा आतिथ्य सत्कार शाखाले सार्वजनिक गरेको तुलनात्मक तथ्यांकअनुसार सन् २०२५ को सेप्टेम्बर २२ देखि अक्टोबर ७ सम्म लुम्बिनी भ्रमण गर्ने पर्यटकको संख्या २९ हजार ७८७ थियो । सन् २०२६ को अक्टोबर ११ देखि २५ सम्म यो संख्या बढेर ४५ हजार ९३४ पुगेको छ । यो अवधि भनेको गत वर्ष घटनास्थापनादेखि पूर्णिमासम्म र अहिले घटनास्थापनादेखि पूर्णिमासम्म हो ।

Pach Pandav

यस अवधिमा लुम्बिनी आउने पर्यटकको संख्या १६ हजार १४७ ले बढेको हो । तथ्यांकअनुसार सबैभन्दा धेरै भारतीय पर्यटकको संख्यामा वृद्धि भएको छ ।

सन् २०२५ को तुलनात्मक अवधिमा १५ हजार २६६ भारतीय पर्यटक लुम्बिनी पुगेका छन् । सन् २०२६ मा यो संख्या बढेर २४ हजार ५५७ पुगेको छ । यसरी भारतीय पर्यटकको आगमन ९ हजार २९१ अर्थात् ६०.८६ प्रतिशतले वृद्धि भएको हो ।

त्यस्तै, नेपाली पर्यटकको आगमनमा पनि उल्लेख्य वृद्धि देखिएको छ । गत वर्षको तुलनात्मक अवधिमा ७ हजार ६५६ नेपालीले लुम्बिनी भ्रमण गरेकामा यस वर्ष यो संख्या बढेर १३ हजार ७०० पुगेको छ । नेपाली पर्यटकको आगमन ६ हजार ४४ अर्थात् ७८.९४ प्रतिशतले बढेको तथ्यांकमा उल्लेख छ ।

तेस्रो मुलुकका पर्यटकको संख्या पनि बढेको छ । सन् २०२५ मा ४ हजार ८४० जना तेस्रो मुलुकका पर्यटक लुम्बिनी पुगेकामा सन् २०२६ मा यो संख्या बढेर ५ हजार ६५१ पुगेको छ । यस समूहका पर्यटकको आगमन ८११ अर्थात् १६.७६ प्रतिशतले वृद्धि भएको हो ।

लुम्बिनीमा यस वर्षको दसैँ अवधिमा देखिएको पर्यटक आगमनको वृद्धिले धार्मिक तथा सांस्कृतिक पर्यटनको सम्भावना थप उजागर गरेको छ । विशेषगरी नेपाली र भारतीय पर्यटकको संख्या बढ्नुले लुम्बिनीको आन्तरिक तथा सीमापार पर्यटनमा आकर्षण बढ्दै गएको देखाएको छ ।

Leave A Reply

Your email address will not be published.