काठमाडौँ :
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले त्रिशुली नदीमा र्याफ्टिङको अनुभव लिएका छन्। ७५ वर्षको उमेरमा पनि साहसिक पर्यटन गतिविधिमा सक्रिय देखिँदै आएका श्रेष्ठले पृथ्वी राजमार्गअन्तर्गत मलेखु नजिक रहेको त्रिशुली रिभरसाइड रिसोर्टद्वारा सञ्चालन गरिएको र्याफ्टिङमा सहभागिता जनाएका हुन्।
उक्त र्याफ्टिङ कार्यक्रममा श्रेष्ठ परिवारसँगै चर्चित गायक सत्यराज आचार्यको परिवारको पनि सहभागिता रहेको थियो। सहभागीहरूको सामूहिक उपस्थितिले त्रिशुली नदी क्षेत्रको साहसिक पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको आयोजक पक्षको भनाइ छ।
र्याफ्टिङपछि प्रतिक्रिया दिँदै मदनकृष्ण श्रेष्ठले उमेर कुनै पनि गतिविधिका लागि बाधक नहुने बताए। यसअघि एक पटक र्याफ्टिङ गरिसकेका उनले दोस्रो अनुभव पनि उत्तिकै रोमाञ्चक र रमाइलो रहेको उल्लेख गरे। उनका अनुसार सुरुवातमा केही डर लागे पनि नदीको बहावसँगै बग्दा उत्साहजनक अनुभूति भएको थियो।
र्याफ्टिङमा सहभागी उनका छोरा यमन श्रेष्ठले बुवासँगै यसरी यात्रा र साहसिक गतिविधि गर्न पाउँदा आफूलाई विशेष खुसी लागेको बताए।
त्रिशुली रिभरसाइड रिसोर्टका सञ्चालक उद्धव कँडेलका अनुसार पछिल्लो समय त्रिशुली नदीमा र्याफ्टिङ गर्ने आन्तरिक तथा बाह्य पर्यटकको संख्या उल्लेख्य रूपमा बढ्दै गएको छ। वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र चर्चित गायकहरूको सहभागिताले साहसिक पर्यटनप्रति सकारात्मक सन्देश प्रवाह भएको उनले बताए।
कँडेलका अनुसार रिसोर्टले विगत एक दशकभन्दा लामो समयदेखि र्याफ्टिङ, क्यानोइङ र कायाकिङजस्ता गतिविधि सञ्चालन गर्दै आएको छ। हाल रिसोर्टमा जिपलाइन र स्काई रोप साइक्लिङसमेत थप गरिएको छ। काठमाडौंबाट करिब ७० किलोमिटर दूरीमा पृथ्वी राजमार्गको मलेखु नजिक मालिङ्गामा अवस्थित रिसोर्ट परिसरमा नेपालमै पहिलो पटक खोला वारपार गर्ने स्काई रोप साइक्लिङ सञ्चालनमा ल्याइएको जनाइएको छ।
उनका अनुसार पर्यटकलाई लक्षित गर्दै रिसोर्ट क्षेत्रमा २५ वटा भिल्ला, टेन्टेड क्याम्प, २०० जनाको क्षमता भएको बेङ्क्वेट हल र स्विमिङ पुलसहितको त्रिशुली भिल्ला निर्माण गरिएको छ। आगामी दिनमा थप साहसिक तथा पर्यटनमैत्री गतिविधि विस्तार गर्ने योजना रहेको कँडेलले जानकारी दिए।
नेपाल हिमाली क्षेत्रबाट उद्गम भएका नदीहरू र विविध स्तरका र्याफ्टिङ मार्गका कारण अन्तर्राष्ट्रिय रूपमा उत्कृष्ट ह्वाइटवाटर र्याफ्टिङ गन्तव्यका रूपमा परिचित छ। त्रिशुली, भोटेकोशी, सुनकोशी, कालीगण्डकी र कर्णालीजस्ता नदीहरूले विश्वभरका साहसिक पर्यटनप्रेमीलाई आकर्षित गर्दै नेपाललाई अनुभवमा आधारित पर्यटनको प्रमुख केन्द्रका रूपमा स्थापित गर्दै आएका छन्।