सुचना, समाचार र मनोरन्जन

मध्यपुर थिमीमा MEDPA अन्तर्गत एड्भान्स पार्लर, रेजिन आर्ट र साबुन तालिम सुरु

मध्यपुर थिमी :

 मध्यपुर थिमी नगरपालिकाको उद्योग, सहकारी तथा रोजगार प्रवर्द्धन शाखाको आयोजनामा लघु उद्यम विकास कार्यक्रम (MEDPA) अन्तर्गत सीप विकास तालिम कार्यक्रमको शुभारम्भ गरिएको छ।

हालै मध्यपुर थिमी नगरपालिका–३ स्थित कौशलटारमा आयोजित कार्यक्रममा एड्भान्स पार्लर, बेसिक रेजिन आर्ट तथा साबुन उत्पादन (बेसिक) सम्बन्धी तालिम सुरु गरिएको हो। स्वरोजगार र उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिम MEDPA कार्यक्रमअन्तर्गतका सीपमूलक तालिम योजनामध्ये एक रहेको छ।

कौशलटारस्थित जीएम ब्युटी सैलुनको आँगनमा सञ्चालन हुने तालिममा ३० जनाभन्दा बढी महिलालाई समूहगत रूपमा सहभागी गराइएको छ। विगतका वर्षहरूदेखि यस्ता विभिन्न सीपमूलक तालिम सञ्चालन गर्न पाएको अवसरप्रति मध्यपुर थिमी नगरपालिका तथा सहयोगी सबैप्रति आभार व्यक्त गर्दै एड्भान्स पार्लर तालिमकी प्रशिक्षक तथा अन्तर्राष्ट्रिय कस्माटोलोजिस्ट मन्दिरा खड्का हायुले तालिमले महिलालाई आत्मनिर्भर बनाउने विश्वास व्यक्त गर्नुभयो।

उद्योग, सहकारी तथा रोजगार प्रवर्द्धन शाखाका प्रमुख अभयन्द्र रञ्जितको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा मध्यपुर थिमी नगरपालिकाका प्रवक्ता तथा वडा नं. ३ का अध्यक्ष कृष्णहरि आचार्य प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

कार्यक्रममा वडा नं. ३ की वडा सदस्य तथा उद्यम विकास समितिकी सदस्य निर्मला परियार, रोजगार संयोजक अरुणा कार्की, लघु उद्यम विकास कार्यक्रमकी सहजकर्ता शोभा राउत, सिनियर कस्माटोलोजिस्ट तथा जीएम ब्युटी सैलुनकी सञ्चालिका मन्दिरा खड्का, रेजिन आर्टका प्रशिक्षक शोख असरक, साबुन निर्माणका प्रशिक्षक मैयाँ दाहाललगायत विभिन्न विशिष्ट व्यक्तित्व, पत्रकार तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि आचार्यले यस्ता सीपमूलक तालिमले स्थानीय तहमा स्वरोजगार सिर्जना हुने, महिलाहरू आत्मनिर्भर बन्ने तथा वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता घट्ने बताउनुभयो। उहाँले यस्ता कार्यक्रमको दीर्घकालीन प्रभावलाई ध्यानमा राख्दै आवश्यक बजेट व्यवस्थापनका लागि सरकारसँग पहल गर्ने र व्यक्तिगत तथा संस्थागत रूपमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै आगामी आर्थिक वर्षमा यस्ता कार्यक्रमलाई अझ प्राथमिकताका साथ अगाडि बढाइने जानकारी दिनुभयो।

कार्यक्रमको समापन गर्दै उद्योग, सहकारी तथा रोजगार प्रवर्द्धन शाखाका प्रमुख अभयन्द्र रञ्जितले तालिमले महिलाको आर्थिक उन्नति, सीप विकास र आत्मनिर्भरता बढाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै सहभागीहरूलाई तालिमको अधिकतम लाभ लिन आग्रह गर्नुभयो।

कार्यक्रमको सञ्चालन उद्यम विकास सहजकर्ता शोभा राउतले गर्नुभएको थियो।

Leave A Reply

Your email address will not be published.