काठमाडौं :
आगामी भदौ ६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र माग्ने राजा निर्माणको चरणमै चर्चामा छ। फिल्मका टिजर, फस्ट लुक र गीतहरू सार्वजनिक भएसँगै यसको प्रचारप्रसार थप तीव्र बनेको छ।
फिल्ममा समावेश गरिएको गीत ‘म त सुतेर उठेको पैसामा’ हाल दर्शकबीच विशेष रुचाइएको छ। एक साताअघि सार्वजनिक गरिएको यो गीतले युट्युबमा २२ लाखभन्दा बढी पटक हेरिएको छ। गीतलाई हालसम्म १९ हजारले लाइक गरेका छन् भने करिब ९ सय दर्शकले प्रतिक्रिया दिएका छन्।
बाबुल गिरीको शब्द, संगीत र स्वरमा तयार भएको यो गीत सामाजिक सञ्जाल टिकटकमा पनि निकै चर्चित बनेको छ, जहाँ यस गीतमा आधारित हजारौं भिडियो निर्माण भइसकेका छन्।
फिल्म माग्ने राजा का निर्देशक ऋषि लामिछाने हुन् भने यसको लगानी मुनाल घिमिरेले गरेका हुन्। चलचित्रमा केदारप्रसाद घिमिरे (माग्ने बुढा), वर्षा सिवाकोटी, विल्सन विक्रम राई, शिशिर वाङ्देललगायतका कलाकारको अभिनय रहेको छ। फिल्मको पटकथा सामिप्यराज तिमिल्सिनाले लेखेका हुन्।
