सुचना, समाचार र मनोरन्जन

पोखरामा ‘महाभोज’को छायाङ्कन सुरु, खगेन्द्र र मोहनले दिए पहिलो शट

काठमाडौं :

दिनेश राउतको निर्देशनमा बन्न लागेको फिल्म ‘महाभोज’को छायाङ्कन सुरु भएको छ। ४५ दिनको तालिकासहित मङ्गलवारदेखि पोखराको घाचोकमा यसको छायाङ्कन सुरु भएको निर्माण पक्षले जानकारी दिएको हो।

चलचित्रको पहिलो शट अभिनेता खगेन्द्र लामिछाने र कलाकार मोहन निरौलाले दिएका छन् । गत साता काठमाडौंमा क्यामेरा तथा फिल्मको स्क्रिप्ट पूजा गरिएको थियो। यो दिनेश राउतको आठौँ निर्देशकिय फिल्म हो। निर्देशन गरिरहेको यस फिल्मलाई हिमाल कडरियाले निर्माण गरिरहेका छन्।

sfal

यसमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाह लगायतको अभिनय रहेको छ ।
कलाकारहरूको बुलन्द लाइनअपसहित बन्दै गरेको यस चलचित्रमा सर्वसाधारणको जीवन र भरोसामाथि खेलबाड गर्नेहरू विरुद्धको विद्रोही स्वर पाइनेछ। निर्देशक राउतले समाजमा हुने विश्वासघात र भ्रष्टाचार विरुद्धको कथामा ‘महाभोज’ बनाइरहेको जनाए। उनले यस चलचित्रमार्फत नागरिकको जिम्मेवारी, न्याय, पारदर्शिता, र सामाजिक जागरणको महत्त्व देखाउने प्रयास गर्ने तथा देशका प्रणालीविहीन कामहरूको विरुद्ध जब नागरिकको सहनशीलताको बाँध टुट्छ, समाजले कस्तो रूप लिन्छ भन्ने चलचित्रले देखाउने बताए ।

चलचित्रलाई क्लक वर्क क्रियशन र पिक्चर फ्रेमले संयुक्त निर्माण गर्दैछन् । यसका कार्यकारी निर्माताहरू किरण नेपाली र सुदिप ढकाल हुन् । चलचित्रलाई विकास सुवेदीले लेखेका छन् भने छायाकार राजेश श्रेष्ठ हुन् । सम्पादन निमेष श्रेष्ठको, ध्वनि डिजाइन उत्तम न्यौपानेको, मुख्य सहायक निर्देशन दिनेश बहादुर रावतको रहेको छ ।

रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर हुन् भने मनोज जोशी निर्माण नियन्त्रक र सहायक निर्माण नियन्त्रक विदुर मानन्धर हुन् । साजन बस्ताकोटीको कला निर्देशन, रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टको पब्लिसिटी डिजाइन, समरा जोशीको मेकअप तथा सरस्वती श्रेष्ठको केश स्टाइलिङ तथा आशिष पौडेलको कस्ट्युम डिजाइन रहेको छ । काफिया फिल्म्स् र कुबेर सिने डिस्ट्रिब्युसनले नेपालमा चलचित्रको वितरण गर्नेछन् ।

Leave A Reply

Your email address will not be published.