काठमाडौं :
आगामी चैत ९ गते प्रदर्शनमा आउन लागेको फिल्म ‘महाजात्रा’को टिम प्रचारप्रसारका लागि देश दौडाहा लागेका छन्। निर्माण टिमले बुधबार धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङलाई समेत भेटेका छन्।
फिल्मकर्मीको टिमलाई भेटेर मेयर हर्कले आगामी बजेटमा नेपाली फिल्म क्षेत्रलाई सम्बोधन गर्ने बचन दिएका छन्। उनले आगामी वर्षको बजेटमा फिल्म क्षेत्रलाई समेत समेट्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाले आज धरानमा आयोजना गरेको ‘महाजात्रासँग स्थानीय सरकारः सिनेमा संवाद’ विषयक अन्तरक्रिया कार्यक्रममा मेयर साम्पाङले आफ्नो भनाई राखेका हुन् ।
उनले, आफू नेपाली कला, संकृतीको विकासमा जहिले पनि गम्भीर रहेको समेत फिल्मकर्मीलाई बताए । फिल्म महाजात्राका मुख्य कलाकार हरिवंश आचार्यले मेयर साम्पाङको काम गर्ने शैलीको प्रशंसा गरे। उनले मेयर हर्कको आफू फ्यान भएको बताए । फिल्म ‘महाजात्रा’का कार्यकारी निर्माता तथा कलाकार समेत रहेका रविन्द्र सिंह बानियाले स्थानीय सरकारसँग आफूहरूले ठूलो सहयोगको भन्दा पनि हातेमालोको अपेक्षा गरेको बताए । फिल्म छायांकनका समयमा लोकेशनदेखि थुप्रै कुराहरूमा हुने अन्योलतालाई सहजिकणका लागि आफुहरुलाई साथ चाहिएको आशय व्यक्त गरे।
सोही क्रममा फिल्मका अर्का मुख्य कलाकार विपिन कार्कीले फिल्म छायांकनका बेला लफडा समेत पर्ने गरेको बताउँदै यसमा स्थानिय सरकारले बुझाई दिन आग्रह गरे। ‘कहिलेकाही छायांकन गर्दा गर्दै लफडा पर्छ,’उनले केहि फिल्मको छायांकनमा परेको लफडालाई स्मरण गराउदै भने,‘विभिन्न राजनीतिक दललाई चित्त बुझाउनुपर्छ । यसमा सहजता भयो भने काम गर्न सजिलो हुने थियो ।’
यो फिल्मलाई प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको छ। फिल्मलाई लिएर नर्मिाण टिम निकै उत्साहित बनेका छन्।