काठमाडौं :
फूलपातीको दिनदेखि प्रदर्शनमा आएको चलचित्र ‘माइतीघर’ ले देशभर सशक्त व्यापार गरिरहेको छ। रिलिजको सातौं दिनसम्म आइपुग्दा फिल्मको व्यापार विशेषगरी मोफसलका शहरहरूमा आक्रामक बनेको वितरण कम्पनीले जनाएको छ।
फिल्मले पोखरा, चितवन, दाङ, कावासोती, नेपालगञ्ज, वुटवल र सुर्खेतमा अत्यधिक व्यापार गरेको छ। विशेषगरी चितवनदेखि पश्चिमका अधिकांश स्टेशनहरूमा फिल्मको बुकिङ र व्यापार दुवै उत्साहजनक देखिएको छ।
त्यस्तै, पूर्वका हलहरूमा पनि व्यापार सन्तोषजनक रहेको निर्माण पक्षले बताएको छ। काठमाडौंका मल्टिप्लेक्सहरूमा समेत दर्शकको चाप देखिएको छ, जसले फिल्मप्रति देशभर सकारात्मक प्रतिक्रिया मिलिरहेको संकेत गर्छ।
फिल्मको पश्चिम क्षेत्रमा बढ्दो लोकप्रियतासँगै कलाकार टोली नेपालगञ्जतर्फ जाने तयारीमा रहेको छ। नेपालगञ्जको सिने रोयल र क्यूएफएक्स बागेश्वरीमा दर्शकको उच्च चाप देखिएको छ। मंगलबार र बुधबार कलाकारहरूले स्थानीय दर्शकसँग विशेष भेटघाट तथा साक्षात्कार कार्यक्रम गर्ने योजना बनाइएको छ।
निर्माण पक्षका अनुसार, नायक धिरज मगर, नायिका उपासना सिंह ठकुरी, कलाकार केदार प्रसाद घिमिरे (माग्ने बुढा), वुद्दि तामाङ, र प्रकाश सपुतलगायत कलाकारहरू पश्चिमतर्फ प्रस्थान गर्ने तयारीमा छन्।
फिल्म रोहित अधिकारीको निर्माणमा र मिलन तामाङको निर्देशनमा तयार गरिएको हो। ‘माइतीघर’ लाई दर्शकको साथले फूलपातीदेखि निरन्तर बक्स अफिसमा बलियो उपस्थिति दिलाएको देखिन्छ।