काठमाडौं :
चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ को प्रदर्शन मिति पुनः सारिएको छ। देशको पछिल्लो राजनीतिक तथा सामाजिक अवस्थालाई ध्यानमा राख्दै निर्माण टिमले मिति परिवर्तन गरेको जनाएको छ।
यसअघि असोज २४ गते प्रदर्शन हुने भनिएको चलचित्र अब कार्तिक २१ गते (नोभेम्बर ७) बाट प्रदर्शनमा आउने भएको छ। निर्माता विनोद पौडेलले आफ्नो फेसबुकमार्फत नयाँ मितिको जानकारी सार्वजनिक गर्दै दर्शकको सहजता र सुरक्षालाई मध्यनजर गरी निर्णय गरिएको बताएका छन्।
उनका अनुसार, प्रतिकूल परिस्थितिमा पनि दर्शकले साथ र सहयोग जारी राख्ने विश्वास लिइएको छ। नेपाली र हिन्दी दुवै भाषामा बनेको यो चलचित्र नेपालसहित भारत र विश्वका विभिन्न देशमा एकसाथ प्रदर्शन हुने भएको छ।

सेभेन सिज सिनेमाजको ब्यानरमा बनेको फिल्ममा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, र शिशिर वाङ्देल मुख्य भूमिकामा छन्।
चलचित्रको निर्देशन सुशान्त गौतमले गरेका छन् भने मदन थापा क्रिएटिभ निर्देशक हुन्। कथा मुकेश खनालले लेखेका हुन्।
फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी, सह–निर्माता रमेश चौलागाईं र हरि श्रेष्ठ, र कार्यकारी निर्माता विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल, सन्देश श्रेष्ठ रहेका छन्।
छायांकनमा शरद महतो, सम्पादनमा मदन घिमिरे, रंग संयोजनमा जुनिम गहतराज, र भिएफएक्समा मनोज श्रेष्ठ छन्। लाइन प्रोड्युसर जीवन शाक्य हुन्। चलचित्र टोलीले कार्तिक २१ गतेदेखि विश्वव्यापी प्रदर्शनमार्फत नेपाली सिनेमालाई नयाँ स्तरमा पुर्याउने विश्वास व्यक्त गरेको छ।