सुचना, समाचार र मनोरन्जन

युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा आयो ‘ऊनको स्वीटर’को गीत ‘मखमली’

काठमाडौं :

गीत रिलिज भएसँगै फिल्म‘ऊनको स्वीटर’को गीत ‘मखमली’ले दर्शकको साथ पाएको छ। यो गीतको भिडियोले नेपालसहित विभिन्न देशमा युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा अगट्न सफल भएको छ।

माल्टा लगायत देशमा शिर्षस्थानमा रहेको यो गीत नेपालको युट्युबमा पनि ट्रेन्डिङको पहिलो स्थानमा आइपुगेको हो। यसबाहेक कतारमा दोस्रो, अस्ट्रेलिया र युएईमा पाँचौँ तथा कुवेतमा उन्नाइसौँ स्थानमा रहेर यो गीतले चर्चा पाएको छ।

Gandarbha

गत बिहीबार साँझ रिलिज भएको यो गीत दश लाख बढी पटक युट्युबमा हेरिएको छ भने टिकटक र फेसबुक रिल्समा लाखौँ युजरले यसको भिडियो बनाएका छन्। गीतको टीजर नै केही दिनअघि सार्वजनिक हुँदा दर्शकहरूको अत्यधिक रुचि पाएको थियो । पूर्ण गीत सार्वजनिक भएपछि यो अपेक्षाकृत चर्चित बनेको छ र यसबाट दर्शकहरूले फिल्म हेर्न व्यग्र प्रतीक्षा रहेको प्रतिक्रिया दिइरहेको निर्देशक नवीन चौहानले बताए ।

यो गीतले नेपाली लोक सङ्गीतको चर्चित ‘कौडा÷चुट्का’ भाकालाई पुनः जागरण गर्दै अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरबीचको अव्यक्त प्रेमलाई कलात्मक रूपमा प्रस्तुत गरेको छ। पाँचथर र नेपाल–भारत सीमावर्ती फालेलुङको सांस्कृतिक परिवेशमा आधारित यो फिल्मका गीत तथा दृश्यहरूले दर्शकहरूको मन जितिरहेका छन्। गीतलाई सुजन चापागाईँ र सुनिता थेगिमले स्वर दिएका छन् भने हर्क साउदले लेखेका हुन्।सुजन चापागाईँकै सङ्गीत, र कोविद बज्रको सङ्गीत निर्माण रहेको छ। दीप गुरुङको कोरियोग्राफीमा बनेको भिडियोमा अभिनेता विल्सन विक्रम राईको रोचक भूमिकाले थप आकर्षण थपेको छ।

आर्टमाण्डू प्रा.लि.को निर्माणमा बनेको यो पहिलो फिचर फिल्म हो। फिल्मलाई नवीन चौहानले निर्देशन गरेका हुन् भने सुरज कटुवालको सह लेखन रहेको छ। यस फिल्ममा विपिन र मिरुनाका अलवा सुनिल पोखरेल, माओत्से गुरुङ, विल्सन विक्रम राई, प्रेम सुब्बा, एलेक्स पारस, परीक्षा लिम्बु, सुरज तमू, र भावना खपाङ्गी मगरलगायतको अभिनय रहेको छ ।

Leave A Reply

Your email address will not be published.