सुचना, समाचार र मनोरन्जन

अशोक दर्जीको ‘मन बिनको धन’ तेस्रो सातामै साढे तीन करोड पार

काठमाडौँ :
बालगायक अशोक दर्जीको मुख्य भूमिका रहेको चलचित्र ‘मन बिनको धन’ तेस्रो सातासम्म देशभर प्रदर्शन भइरहेको छ। करिब तीन करोड ५० लाखको हाराहारी बक्स अफिस कलेक्सन गर्दै फिल्मले लगातार सकारात्मक प्रतिक्रिया बटुलेको निर्माण पक्षले जनाएको छ।

दर्जीको वास्तविक जीवन कथामा निर्माण गरिएको फिल्म हेर्दा दर्शक भावुक बनेका भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भएका छन्। स्कुले विद्यार्थीदेखि अभिभावकसम्म हलबाट रुँदै निस्किएको दृश्य धेरै स्थानमा देखिएको छ। पहिलो दिनदेखि नै जेनजी पुस्तादेखि ज्येष्ठ नागरिकसम्म हलमा उपस्थिति जनाउँदै आएका छन्।

निर्देशक टंक बुढाथोकीले शनिबार सामाजिक सञ्जालमार्फत ‘गुरु–चेला सम्बन्ध’ र ‘कर्तव्यबोध’ लाई विशेष रूपमा प्रस्तुत गरिएको फिल्मलाई शिक्षक–विद्यार्थीले हेर्नुपर्ने प्रतिक्रिया पाएको भन्दै खुशी व्यक्त गरे। उनले भोलिदेखि फिल्म हेर्न चाहने देशभरिका विद्यालयलाई निर्माण टिमले सहयोग र छुट उपलब्ध गराउने जनाएको छ। यसका लागि आफ्नो व्यक्तिगत फोन नम्बरमार्फत सिधै सम्पर्क गर्न आग्रह गरेका छन्।

फिल्ममा अशोक दर्जीसहित सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, रमेश विश्वकर्मा, बुद्दि तामाङ, रवीन्द्र झा, पार्वती अधिकारी, एआर बुढाथोकी, शंकर श्रेष्ठ,साम्राज्ञी थापा, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा,आर्यन पोखरेल र विजय डंगोल लगायत कलाकारको अभिनय छ।

टंक बुढाथोकीकै निर्माण तथा निर्देशनमा बनेको फिल्ममा कथा बुढाथोकी स्वयंले लेखेका छन् भने पटकथा–संवाद शिवम अधिकारीको रहेको छ। फिल्मको निर्माण विष्णुमाया मैनालीले गरेकी हुन्। मिनु शर्मा (सपना) कार्यकारी निर्मातामा छन्। जीपी सङ्ग्रोला, विवेक नेपाल र बिजया पाण्डे सहनिर्माता हुन्। टिकाराम बुढाथोकी क्रियटिभ निर्देशकका रूपमा रहेका छन्। फिल्ममा टंक बुढाथोकीको संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी तथा मित्र डी. गुरुङको सम्पादन समावेश छ।

Leave A Reply

Your email address will not be published.