सुचना, समाचार र मनोरन्जन

राष्ट्रिय श्रष्टा प्रतिष्ठानद्वारा तीन वरिष्ठ साधक सम्मानित

काठमाडौँ :

राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानद्वारा प्रदान गरिने ‘विशिष्ट साधक सम्मान–२०८२’ सम्पन्न भएको छ। ललितकला, संगीत र सांस्कृतिक क्षेत्रमार्फत जीवनभर योगदान पुर्‍याउने तीन जना वरिष्ठ साधकलाई यो वर्ष सम्मान प्रदान गरिएको हो।

सम्मानित हुनेमा वरिष्ठ नृत्य निर्देशक तथा लोकनृत्य मञ्चनका प्रवर्तक भैरव बहादुर थापा, वरिष्ठ गायिका तथा साहित्यकार चन्द्रकला शाह र वरिष्ठ लोक गायक तथा संकलक रेशम थापा रहेका छन्।

प्रतिष्ठान स्थापना भएपछि निरन्तर प्रदान हुँदै आएको यो सम्मानको तेस्रो संस्करण हो। २०८० मा पहिलोपटक खड्ग गर्बुजा, चैत्य देवी र शशी बिक्रम शाह सम्मानित भएका थिए भने २०८१ मा भैरव रिसाल, माणिकरत्न स्थापित र प्रदीप कुमार उपाध्यायलाई सम्मान प्रदान गरिएको थियो।

यस वर्षको ‘विशिष्ट साधक सम्मान–२०८२’ अन्तर्गत रू. ५५५५ नगद, दोसल्ला र सम्मानपत्र हस्तान्तरण गरियो। सम्मान ग्रहणकर्ताहरूले आफ्नो घरमै पुगेर सम्मान प्रदान गर्ने यस्तो पहल नौलो, विशेष र प्रेरणादायी भएको प्रतिक्रिया दिए।

कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार रमेश दाहाल, वरिष्ठ संगीतकार तथा गायक कमल अधिकारी, अध्यक्ष नारायण बहादुर थापा, वरिष्ठ उपाध्यक्ष दीपक शर्मा, उपाध्यक्ष सुजाता केसी, महासचिव सनम कठायत, सचिव रिता केसी, कोषाध्यक्ष प्रतिक्षा काफ्ले तथा सदस्यहरू बिरेन्द्र भाट ‘बिपिन’, मनोज परियार, डेभिड शंकर, सुभाष तिम्सिना, कोपिला सिवाकोटी, प्रमोद डिजी र बिक्रान्त आचार्यलगायतको उपस्थिति थियो।

Leave A Reply

Your email address will not be published.