सुचना, समाचार र मनोरन्जन

‘मालती मंगले’को नयाँ गीत ‘झ्याम पारम’ भिडियोमा सविन र एलिसाको आकर्षक

काठमाडौं :

यही वैशाख २५ गते (मे ८) बाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘मालती मंगले’को नयाँ गीत ‘झ्याम पारम’ सार्वजनिक गरिएको छ। दर्शकमाझ चलचित्रका दुई गीतहरू ‘सुनैको सपनी’ र ‘ढुङ्गा माथि लेऊ’ सार्वजनिक भइसकेको अवस्थामा निर्माण पक्षले तेस्रो गीतका रूपमा यो आकर्षक डान्सिङ नम्बर दर्शकमाझ ल्याएको हो। सार्वजनिक गीतमा चर्चित गायक रामकृष्ण ढकाल र गायिका मेलिना राईको स्वर सुन्न सकिन्छ। गीतमा दिग्गज गीतकार राजेन्द्र थापाको शब्द, राजन राज शिवाकोटीको सङ्गीत र श्यामश्वेत रसाइलीको एरेन्ज रहेको छ।

यस गीतको भिडियोलाई निकै भव्य र मनोरञ्जनात्मक तरिकाले प्रस्तुत गरिएको छ। रोशन विश्वकर्माको कोरियोग्राफी रहेको ‘झ्याम पारम’मा चलचित्रका मुख्य कलाकारहरू विजय बराल, वर्षा राउत र मेक्सम गौडेलका साथमा चर्चित डान्सर सविन कार्की (बिस्ट), एलिसा शर्मा र रोशित कर्माचार्यलाई विशेष अतिथी भूमिका (गेस्ट एपेरेन्स) मा देख्न सकिन्छ। भिडियोलाई आकर्षक बनाउन सुनिता पोखरेलको सहायक कोरियोग्राफी, विक्रम थापा र शंकर थापाको मेकअप, रश्मी दाहालको हेयर स्टाइल तथा मनिता सुन्दासको कला निर्देशन रहेको छ।

प्रकु पाण्डेयको निर्देशनमा तयार भएको यस चलचित्रलाई रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण गरिएको हो। चलचित्रको कथा स्वयं निर्देशक पाण्डेयले नै लेखेका हुन् भने पटकथा तथा संवाद संयोग गुरागाईँको रहेको छ। यस चलचित्रमा विजय, वर्षा र मेक्समका साथमा नरिन थापा, मान्सु सापकोटा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पङ्गेनी, सुस्मिता गुरुङ र सागर भट्टराई लगायतका कलाकारहरूको सशक्त अभिनय रहेको छ। चलचित्रका कार्यकारी निर्माता सागर ज्ञवाली हुन् भने बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँ सह-निर्माताको रूपमा रहेका छन्।

कथावस्तु र कलाकारहरूको बलियो लाइनअप रहेको यस चलचित्रको प्राविधिक पक्ष पनि निकै उत्कृष्ट रहेको छ। चलचित्रमा महेश पौडेलको छायाङ्कन, रोमी मोजेजको सम्पादन, कृष्ण भण्डारीको रङ्ग संयोजन, सुजिल कर्माचार्यको ब्याकग्राउन्ड म्युजिक र डिकेश खड्गीको ध्वनि मिश्रण रहेको छ। यसअघि सार्वजनिक गीतहरूमा हर्क साउदको शब्द, एसडी योगीको सङ्गीत र रिकेश गुरुङको एरेन्ज रहेको थियो जसको भिडियो कोरियोग्राफी पनि रोशन बिकले नै गरेका हुन्। आरआर फिल्म्सले वितरण गर्ने यो चलचित्रले वैशाख २५ गतेबाट दर्शकलाई पूर्ण मनोरञ्जन दिने विश्वास निर्माण पक्षले लिएको छ।

Leave A Reply

Your email address will not be published.