सुचना, समाचार र मनोरन्जन

उत्तम र निरुताको ‘सारथी’को शुभमुहूर्त, बुधबार म्याग्दीको गुर्जा खानीबाट छायांकन

काठमाडौं :

कुमार गजुरेलको डेव्यु निर्देशनमा निर्माण हुने फिल्म ‘सारथी’को शुभमुहूर्त गरिएको छ । सोमबार काठमाडौंस्थित भद्रकाली मन्दिरमा शुभमुहूर्त गर्दै छायांकनका लागि म्याग्दीको गुर्जा खानी प्रस्थान गरेको हो।

वैशाख ९ गते बुधबारबाट फिल्मको गुर्जा खानी आसपासका सुन्दर स्थानमा करिब ४० दिनको सेड्युलमा सारथीको छायांकन गरिने निर्देशक गजुरेलले बताए। यो फिल्मबाट बरिष्ठ सम्पादक तारा थापा ‘किम्भे’ निर्माता बनेका छन् । करिब तीन दशक लामो नेपाली फिल्ममा खर्चिएको सम्पादनको अनुभव सहित दर्शकलाई एक उत्कृष्ट कथा पस्किने हेतुले निर्माणमा होमिएको निर्माता थापा बताउँछन् ।

किम्भे प्रोडक्सन तथा धीरज इन्फिनिटी फिल्मस्‌को सहकार्यमा निर्माण हुन लागेको फिल्मबाट कलाकार उत्तम प्रधान र निरुता सिंहको जोडी करिब दुई दशकपछि पुनः एकसाथ देखिन लागेको छ। जसले दर्शकमाझ उत्सुकता बढाउने विश्वास निर्माण टिमको छ। अभिनेत्री सिंह फिल्मको शुभमुहूर्त कार्यक्रममा सहभागी थिइन् । उत्तम भने वैशाख १५ गते नेपाल आएर सिधै छायांकनमा जोडिने निर्माण पक्षले जानकारी गराएको छ।

यो फिल्मको शुभमुहूर्त कार्यक्रममा वरिष्ठ सिनेमाकर्मी लक्ष्मीनाथ शर्मा, प्रकाश सायमी र मन्जुनाथ श्रेष्ठ विशेष अतिथिको रूपमा उपस्थित थिए। अतिथिका रूपमा नेपाल छन्त्याल संघका भूतपूर्व महासचिव तथा वर्तमान सल्लाहकार दीपबहादुर छन्तयाल पनि सहभागीता रह्यो।

फिल्ममा उत्तम र निरुतासहित मुकुन्द श्रेष्ठ, सम्रान्त थापा, गिरी विश्वकर्मा,गायत्री जोशी, मदन थापा,मिलन खड्का,रश्मी गुरुङ, तुलसी राई,आशा विश्वकर्मा लगायतका कलाकारको अभिनय रहनेछ। सौर्यल थापा निर्माता रहेको फिल्मका कार्यकारी निर्माता रदिप श्रेष्ठ र प्रदिप रायमाझी अनि लाइन प्रोड्युसरमा अमीर केसी र निर्देशक गजुरेल रहेका छन्।

Leave A Reply

Your email address will not be published.