सुचना, समाचार र मनोरन्जन

 ‘मनिपाल एक्सप्रेसन कार्यक्रम २०२५’ आयोजना हुने

डाक्टर, कर्मचारी र विद्यार्थीलाई सृजनात्मक ऊर्जा दिने उद्देश्य

पोखरा/

मनिपाल शिक्षण अस्पतालले यस वर्ष पनि आफ्नो वार्षिक सांस्कृतिक तथा सृजनात्मक कार्यक्रम ‘मनिपाल एक्सप्रेसन २०२५’ भव्य रूपमा आयोजना गर्ने भएको छ। कार्यक्रम आगामी मार्च २९ (२०७८ चैत १६) देखि सुरु हुनेछ। कार्यक्रमका सेक्रेटरी डा. कृष्ण यादवका अनुसार, यस प्रकारका क्रियाकलापले अस्पतालमा कार्यरत चिकित्सक, कर्मचारी तथा विद्यार्थीहरूमा सृजनात्मक ऊर्जा थप्नुका साथै आपसी सम्बन्ध सुदृढ गर्न मद्दत पुर्‍याउनेछ।

डा. यादवका अनुसार, मनिपाल एक्सप्रेसन अन्तर्गत खेलकुद, नृत्य, गायन, ब्यान्ड प्रस्तुति, कविता, कथा लेखन, चित्रकला, वादविवादजस्ता विविध विधामा प्रतियोगिताहरू संचालन गरिनेछ । यी विधाहरूले सहभागीहरूलाई आफ्नो लुकेको प्रतिभा उजागर गर्न अवसर दिने छन् भने दैनिक व्यस्ततामा गुम्न थालेको सिर्जनात्मकता फेरि एकपटक पुनर्जीवित हुने अपेक्षा गरिएको छ।

त्यस्तै “दैनिक उपचार सेवामा व्यस्त रहने चिकित्सकहरूको जीवनमा यस्ता कार्यक्रमहरू ऊर्जा थप्ने खालका हुन्छन्,” डा. यादवले भने। “कलिला मस्तिष्क र बाल्यकाल पछाडि छोडेर कडा जिम्मेवारी बोकेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई पुनः सिर्जनशीलताको दुनियाँमा फर्काउने यो कार्यक्रम एक सशक्त माध्यम बन्ने उनले बिश्वास ब्यक्त गरे ।

मनिपाल शिक्षण अस्पतालले विगत केही वर्षदेखि ‘एक्सप्रेसन’ कार्यक्रमलाई नियमित रूपमा आयोजना गर्दै आएको छ। यो कार्यक्रम संस्थाभित्रको सकारात्मक वातावरण निर्माण गर्न, सबै तहका सदस्यहरूबीच सहकार्यको भावना विकास गर्न, र अस्पतालको संस्थागत संस्कृति मजबुत पार्न महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

साँस्कृतिक गतिविधिबाट समावेशीपन र एकता कार्यक्रमले विद्यार्थी, चिकित्सक, प्राध्यापक, प्रशासनिक कर्मचारीलगायत सम्पूर्ण अस्पताल परिवारलाई एकै मंचमा ल्याउने प्रयास गरेको छ। यसले संस्थाभित्रको विविधता झल्काउने मात्र होइन, सबैको योगदानलाई सम्मान गर्ने अभ्यास पनि प्रस्तुत गर्ने आयोजकले जनाएको छ ।

डा. यादवले भने, “मनिपाल एक्सप्रेसन २०२५ हाम्रो लागि केवल एउटा कार्यक्रम होइन, यो हाम्रो आत्म–अभिव्यक्तिको उत्सव हो, जहाँ हामी हाम्रो पेशागत जिम्मेवारी बाहिरको जीवन पनि जिउने अवसर पाउँछौं।”

Leave A Reply

Your email address will not be published.