पोखरा,
मणिपाल शिक्षण अस्पताल प्रशासनले आइतबार विज्ञप्ति निकालेर नर्सिङ कर्मचारीहरुलाई मासिक तलब २४ हजार ५ सय ५० रुपैयाँदेखि २९ हजार ५ सय ५० रुपैयाँसम्म निर्धारण गर्ने सहमति भएको जनाएको छ । अस्पतालले प्रेस विज्ञप्ति जारी गर्दै व्यवस्थापनले मागका ९९ प्रतिशत भाग सम्बोधन भइसकेको पनि दाबी गरेको छ। यद्यपि, केही नर्सिङ कर्मचारीहरुको आन्दोलनका कारण अस्पतालको आईसीयू सेवा प्रभावित भएको र बिरामीहरुलाई असुविधा भएको अस्पतालले जनाएको छ।
बीएससी÷बिएन स्टाफ नर्सका लागि न्यूनतम एक वर्षको अनुभवसहित २९ हजार ५ सय ५० रुपैयाँ, पिएल स्टाफ नर्सका लागि न्यूनतम एक वर्षको अनुभवसहित २८ हजार ८ सय ५० रुपैयाँ, सिएमएरएनएमका लागि न्यूनतम एक वर्षको अनुभवसहित २८ हजार ६ सय ५० रुपैयाँ र फ्रेस नर्सिङ स्टाफका लागि २४ हजार ५ सय ५० रुपैयाँ निर्धारण गरिएको छ। यस सम्बन्धी जानकारी वार्ता टोली र आन्दोलनरत कर्मचारीहरुलाई आधिकारिक रुपमा दिइएको अस्पतालले जनाएको छ। आन्दोलनरत नर्सहरुले भने प्रशासनले एकतर्फी रुपमा मात्रै विज्ञप्ति निकालेको र मंगलबार अपरान्ह ४ बजेमात्रै वार्तामा बसिने बताएका छन् ।