पोखरा,
पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६औँ महाधिवेशनमा मनोजकुमार श्रेष्ठले वाणिज्य उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।
‘सबल व्यवसाय, समृद्ध पोखरा हाम्रो साझा संकल्प’ भन्ने मूल नारासहित उम्मेदवारी दिएका श्रेष्ठले व्यवसायीको हकहित संरक्षण, उद्यमशीलताको प्रवर्द्धन, निजी क्षेत्रको सशक्तीकरण तथा संघको कार्यप्रणालीलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
संघमा २०८२ भदौसम्म कोषाध्यक्षको जिम्मेवारी सम्हालेका श्रेष्ठ आर्थिक अनुशासन, व्यवसायीका समस्या तथा संघको कार्यप्रणालीबारे नजिकबाट परिचित रहेको बताइएको छ। कोषाध्यक्षका रूपमा हासिल गरेको अनुभवलाई वाणिज्य उपाध्यक्षको भूमिकामार्फत व्यवसायीको हितमा थप प्रभावकारी रूपमा प्रयोग गर्ने उनको भनाइ छ।
श्रेष्ठले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत पद वा प्रतिष्ठाभन्दा माथि उठेर सम्पूर्ण उद्योगी–व्यवसायीको साझा भविष्यसँग जोडिएको अभियानका रूपमा प्रस्तुत गरेका छन्। व्यवसायीका वास्तविक समस्या सुन्ने, समाधानका लागि सम्बन्धित सरकारी तथा सरोकारवाला निकायसँग प्रभावकारी समन्वय गर्ने र संघप्रति व्यवसायीको विश्वास अझ मजबुत बनाउने उनको लक्ष्य छ।
‘व्यवसायी बलियो भए संघ बलियो हुन्छ, निजी क्षेत्र बलियो भए पोखराको अर्थतन्त्र बलियो हुन्छ’ भन्ने मान्यताका साथ अघि बढेका श्रेष्ठले पारदर्शिता, जिम्मेवारी र परिणाममुखी नेतृत्वलाई आफ्नो प्राथमिकतामा राखेका छन्।
श्रेष्ठको उम्मेदवारीसँगै पोखरा उद्योग वाणिज्य संघको वाणिज्य उपाध्यक्ष पदको चुनावी प्रतिस्पर्धा थप रोचक बनेको छ।
भदौ २० र २१ गते हुने ३६औँ महाधिवेशनमा श्रेष्ठले सम्पूर्ण उद्योगी–व्यवसायीसँग साथ, सहयोग, विश्वास र अमूल्य मतको अपेक्षा गरेका छन्।