सुचना, समाचार र मनोरन्जन

‘हल्दी सेरेमोनी’ मा रमाउँदै मदनकृष्ण र मिस नेपालहरू, भदौ २६ मा आउँदै ‘माया भनेकै यस्तो होला’

काठमाडौं :

अभिनेत्री रेखा थापाको निर्देशनमा निर्माण भएको प्रतीक्षित चलचित्र ‘माया भनेकै यस्तो होला’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । निर्माण पक्षले आज चलचित्रका मुख्य कलाकारहरूलाई समेटेर आकर्षक र पारिवारिक थिमको पोस्टर सार्वजनिक गरेको हो ।

सार्वजनिक पोस्टरको केन्द्रमा चलचित्रका मुख्य नायक दील श्रेष्ठ फिचर्ड छन्, जहाँ उनी ‘हल्दी सेरेमोनी’ मनाइरहेको अवस्थामा देखिन्छन् । उक्त समारोहमा वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ, लक्ष्मी गिरी, सृष्टि श्रेष्ठ, नीति शाह र नम्रता श्रेष्ठ प्रफुल्ल मुद्रामा देखिएका छन् । पोस्टरमा प्रयोग गरिएको झकिझकाउ सेट, कलाकारहरूको भेषभूषा र नम्रता श्रेष्ठको हातमा रहेको बुकेले चलचित्रमा कुनै खानदानी परिवारको विवाहको परिवेशलाई कलात्मक रूपमा प्रस्तुत गरिएको संकेत गर्छ ।

यस्तै, पोस्टरमा वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ ह्विलचेयरमा देखिएका छन्, जसले उनी चलचित्रमा शारीरिक रूपमा अशक्त व्यक्तिको भूमिकामा रहेको प्रस्ट्याउँछ । पूर्ण रूपमा पारिवारिक थिममा तयार पारिएको यो पोस्टरले चलचित्र विशुद्ध पारिवारिक ड्रामा भएको पुष्टि गर्दै दर्शकलाई सपरिवार हलसम्म आउन अपिल गरेको छ ।

चलचित्र ‘माया भनेकै यस्तो होला’ मार्फत बहुचर्चित अभिनेत्री रेखा थापा करिब ८ वर्षपछि निर्देशनमा फर्किएकी हुन् । यसअघि ‘हिम्मतवाली’ र ‘मालिका’ जस्ता सफल चलचित्रको निर्देशन गरिसकेकी रेखाको यो तेस्रो निर्देशकीय फिचर फिल्म हो । विगतमा आफ्नै ब्यानर ‘रेखा फिल्मस्’ बाट चलचित्र बनाउँदै आएकी रेखाले यसपटक भने आफ्नो ब्यानरभन्दा बाहिर निस्किएर ‘दिया एण्ड अमु फिल्मस्’ को ब्यानरमा निर्देशन गरेकी हुन् ।

यस चलचित्रमा मदनकृष्ण श्रेष्ठ र दिल श्रेष्ठका साथै पूर्व मिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्व मिस नेपाल इन्टरनेसनल नीति शाहको मुख्य भूमिका रहेको छ । चलचित्रमा पूर्व मिस नेपाल उषा खड्गी विशेष भूमिकामा देखिनेछिन् भने लक्ष्मी गिरी, विशाल पहाडी, संगम भण्डारी, रवि डंगोल, सुनिता श्रेष्ठ र विनोद पौडेल लगायतको पनि अभिनय रहेको छ । हरि नारायण श्रेष्ठ, माया देवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ निर्माता रहेको यस चलचित्रले सुमधुर प्रेमकथाका माध्यमबाट सामाजिक भावना र परिवेशलाई पर्दामा उतार्ने निर्माण पक्षको दाबी छ ।

चलचित्रको पटकथा ध्रुव लम्सालले लेखेका हुन् भने सुदीप बरालले छायांकन गरेका हुन्। यस्तै, अनिरुद्ध आत्रेय प्रमुख सहायक निर्देशक, राजन घिमिरे फिल्म संयोजक, प्रशान्त सिवाकोटी संगीतकार, सुजेनी मल्ल ड्रेस डिजाइनर, प्रिया कार्की मेकअप आर्टिस्ट र चुडामणी (सीएम) प्रोडक्सन म्यानेजरका रूपमा आबद्ध छन्।

हाल पोस्ट प्रोडक्सनको अन्तिम चरणमा रहेको यो चलचित्र आगामी भदौ २६ गतेबाट देशभरका सिनेमाघरमा प्रदर्शन हुनेछ। चलचित्रलाई देशभरका प्रमुख वितरक कम्पनीहरू रीच इन्टरटेन्मेन्ट, एप्पल इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन् ।

Leave A Reply

Your email address will not be published.