काठमाडौं :
फिल्म ‘हिरो’बाट अभिनेत्रीमा डेब्यु गरेकी अभिनेत्री रेखा थापा यतिबेला नाटकमा व्यस्त छिन्। उनले फिल्ममा अभिनय गरेको २५ वर्षपछि रंगमञ्चको अनुभव बटुलेकी हुन्।
उनले नाटकमा अभिनय गरेपछि बल्ल एउटा मुल फुटेको बताएकी छन्। उनले आफ्नो सामाजिक सञ्जालमार्फत उक्त कुरा सेयर गरेकी हुन्।
‘यो १५ दिन मैले आफूलाई कलाको साधक भएर साधना गरिरहेको जस्तो महसुस भएको छ’,उनले भनेकी छन्,‘रंगमञ्चमा अभिनय गर्दा मैले आफूलाई प्रत्यक्ष रुपमा अनुभव गरिरहेकी छु।’
उनले अगाडि थपिन्,‘मीरा पात्रमा आफूलाई दर्शक भएर हेर्दा जीवन्त अनुभव गरिरहेकी छु। म भित्र पुन : एकपटक उर्जा थपिएको छ। अब सबै कुरा पाएँ,म सफल भएँ,अब मैले जे गरे पनि हुन्छ, सफलताले त्यस्तो सोच आउँदो रहेछ। तर, वास्तविकता त्यसो होइन रहेछ। नाटकमा अभिनय गरेपछि बन्द भएको एउटा मुल फुटेको पाएको छु।’
उनी अभिनित नाटक ‘मीरा’कान्तिपुर फिल्म एकेडेमीको नाटक हल गैरीधारा काठमाडौंमा मञ्चन भइरहेको छ। हलमा भरिभराउ दर्शक देखेपछि रेखामा बेग्ले जोस जाँगर बढेको छ। यो नाटक आगामी असार ७ गतेसम्म मञ्चन हुनेछ। यो फिल्मपछि उनी ‘छत्तिस आँकडा’नामक फिल्मको तयारीमा जुट्नेछिन्। साथै दोस्रो अध्याय नामक कार्यक्रम समेत सञ्चालन गर्ने छिन्।
