सुचना, समाचार र मनोरन्जन

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ को हङकङ अडिसनबाट छानिए १० प्रतिभा

काठमाडौं :

दर्शकमाझ लोकप्रिय गायन तथा नृत्यमा आधारित रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ तथा ‘मेरो डान्स युनिभर्स’ सीजन–२ को हङकङ अडिसनबाट १० प्रतियोगी छानिएका छन्। उनीहरुलाई हालै जजहरुले काठमाडौंमा आयोजना हुने प्रतिस्पर्धाका लागि छनोट गरेका हुन्।

इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’ ले नेपालमा आयोजना गर्ने यी रियालिटी शोका लागि यही फेब्रुअरी १५ का दिन हङकङको जोर्डनस्थित ब्लु ओसन रेष्टुराँको सभाहलमा अडिसन कार्यक्रम आयोजना गरेको थियो। उक्त अडिसनबाट गायनतर्फ टोपराज तामाङ, डिकेश तामाङ, सौरभ पाख्रिन तामाङ, अनुपकुमार बराइली र बिन्नी लामा राई गरी पाँच जना छनोट भएका छन् । त्यसैगरी नृत्यतर्फ रिस्ता गुरुङ, युविका राना, आयुष्मा राई, दीक्षा गुरुङ र अञ्जली पुन गरी पाँच जना छानिएका छन्। अडिसनमा नृत्यतर्फ १४ जना तथा गायनतर्फ ८ जना गरि २२ जनाले भाग लिएका थिए।

दुई रियालिटी शोका अडिसन कार्यक्रम खुसी इभेन्ट्सकी प्रवन्ध निर्देशक खुसी गुरुङ, संयुक्त डान्स स्टुडियोकी सञ्चालिका सुकु लिम्बु र डिभाइन डान्स स्टुडियोकी संस्थापक सोफिया गुरुङले कार्यक्रमको संयोजन गरेका थिए।गायनतर्फ अडिसनमा हङकङवासी गायकरगायिका सरला गुरुङ तथा मनोज गुरुङ निर्णायकको रुपमा रहेका थिए भने नृत्यतर्फको निर्णायकमा अमेरिकाबाट आएका नृत्य निर्देशक तथा मोडल शंकर बिसी तथा हङकङवासी कोरियोग्राफर तथा मिस लिम्बु ब्युटी कन्टेस्टका संस्थापक युगल पोमु थिए। अश्मि गुरुङद्वारा सञ्चालन गरिएको अडिसनमा निर्णायक बिसीसँगै आयोजक संस्था इन्ट्राका सदस्य रोशन विष्ट, लालबहादुर तिवारी, सोनु तामाङ र अथिराज शिवाकोटी पनि सहभागि भएका थिए।

विश्वका विभिन्न ठूला सहरमा अडिसन लिँदै अघि बढिरहेको यस शोको पहिलो संस्करण सन् २०२३ मा आयोजना गरिएको थियो । यो वर्षको मेरो भ्वाइस युनिभर्स’ दीप श्रेष्ठ, सुरेश अधिकारी, शिव परियार, पुष्पन प्रधान र अञ्जु पन्त निर्णायकको रुपमा रहने छन् भने ‘मेरो डान्स युनिभर्स’ को निर्णायक मण्डलमा मिथिला शर्मा, दीलिप रायमाझी, शिल्पा मास्के, शंकर बिसी, कविराज गहतराज र किरण थापा रहने छन् ।
त्यसअघि, गत फेब्रुअरी १३ का दिन हङकङकै ब्लू ओसन रेष्टुराँमा आयोजकको तर्फबाट मीट एण्ड ग्रीटको कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा विभिन्न जिल्लाका अध्यक्ष तथा विभिन्न जातजातिका संस्थाका अध्यक्षहरुको उपस्थिति रहेको थियो।

यो अन्तर्राष्ट्रियस्तरको नेपाली गायन तथा नृत्यमा आधारित रियालिटी शोका विजेतालाई ठूलो पुरस्कार राशि प्रदान गरिदै आएको छ।यसअघिका विजेताले जस्तै यो शोका दुवैतर्फका विजेतालाई एक करोड रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ। त्यसै गरि दोस्रो तथा तेस्रो हुनेलाई क्रमशः २५ तथा १० लाख रुपैयाँ प्रदान गरिने छ । ‘मेरो डान्स युनिभर्स’ अन्तर्गत हरेक एपिसोडको प्रारम्भमा प्रस्तुत गरिने सामुहिक नृत्य पनि प्रतियोगितात्मक हुने तथा विजेता टिमले २० लाख, उपविजेता टिमले १० लाख र तृतीय स्थान प्राप्त गर्ने टिमले ५ लाख रुपैयाँ नगद पुरस्कार पाउने छन् ।

Leave A Reply

Your email address will not be published.