धरान :
यहीँ फागुन २९ गते देशभर प्रदर्शनमा आउन लागेको फिल्म ‘अञ्जिलाुको धरानमा भव्य रेड कार्पेट प्रिमियर सम्पन्न भएको छ।शुक्रवार धरानको फ्रेन्ड्स सिनेमाजमा आयोजित प्रिमियरमा चलचित्र टिम, फिल्मकर्मी, खेलाडी,पत्रकार र स्थानीयहरुको उपस्थिति रहेको थियो।
नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित यो फिल्मको हङकङ, कोरिया र बेलायतमा सफलतापूर्वक प्रिमियर भइसकेपछि नेपालमा पहिलो पटक धरानमा गरिएको हो। यो प्रिमियरले फिल्मप्रति दर्शकहरूको उत्सुकतालाई थप बढाएको निर्देशक मिलन चाम्सले बताए।
भव्य सजावट र रेड कार्पेटले सजिएको हलमा दर्शकहरूले फिल्मको बारे सकरात्मक प्रतिक्रिया दिएका थिए। प्रिमियरमा निर्माता तथा कलाकार प्रेम कुमार श्रेष्ठ, सहनिर्माता विनोद अग्रवाल, राजेश बगडिया र निर्देशक मिलन चाम्सको उपस्थिति थियो। यद्यपि, फिल्मकी मुख्य अभिनेत्री एन्जिला तुम्बापो सुब्बा र अन्य प्रमुख कलाकारहरू भने कार्यव्यस्तताका कारण उपस्थित रहेनन्। तर, कलाकार प्रकाश सुब्बा र बाल कलाकार नमिक्षा मगरको उपस्थिति भने उल्लेखनियय थियो।
यस फिल्ममा एन्जिलाको साथमा, प्रेम कुमार श्रेष्ठ, दयाहाङ राई, सुनिल थापा, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, र बुद्धि तामाङको प्रमुख अभिनय छ। फिल्म हेरेपछि दर्शकहरू भावुक बनेका थिए। यो फिल्म हेरिरहेका दर्शकहरू हलभित्र रोइरहेका देखिन्थे। विशेष गरी एन्जिलाको सङ्घर्षको कथाले सबैको मन छोएको प्रतिक्रिया प्राप्त भएको छ।दर्शकले फिल्मको प्रशंसा गर्दै निर्देशक मिलन चाम्सको उत्कृष्ट निर्देशनको सराहना गरे।
धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले चलचित्रले नेपाली खेलाडीहरूको वास्तविक सङ्घर्षलाई चित्रण गरेको बताए । युवा दर्शकहरूले फिल्म हेर्दा आफ्नो परिवार र आफूलाई नै देखेको प्रतिक्रिया दिए। फिल्मकी बाल कलाकार नमिक्षा मगरले एन्जिलाको सङ्घर्ष देखेर आफू पनि रोएको बताइन् ।
एन्जिलाको जन्मथलो इलामको आइतबारे, झापा, र काठमाडौँमा छायांकन गरिएको यो फिल्ममा सुदीप बरालले खिचेका हुन् भने सम्पादन मिलन श्रेष्ठको छ। मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित यस फिल्मका निर्माता प्रेम कुमार श्रेष्ठ हुन्। कार्यकारी निर्माता विनोद अग्रवाल हुन् भने टुबेन्द्र लिम्बु, र राजेश बगडिया सहनिर्माता हुन्।