सुचना, समाचार र मनोरन्जन

शम्भूजितलाई दीर्घ साधना सम्मान, उन्नतीदेखि शिवसम्म सम्मानित हुँदै

काठमाडौं :

म्युजिक खबर म्युजिक अवार्डको १३ औं संस्करणमा दिइने सम्मान तथा पुरस्कारको घोषणा गरिएको छ। राजधानीको बालुवाटारस्थित आम्रपाली बैंक्वट एण्ड इभेन्टमा, २०८३ असार १४ गते हुने अवार्ड समारोहमा प्रतिष्ठित संगीतकार शम्भुजित बास्कोटालाई ‘म्युजिक खबर दीर्घ साधना सम्मान–२०८२’ अर्पण गरिने भएको कार्यक्रमकी संयोजक सबिता पोखरेलले जानकारी दिनुभएको हो।

पोखरेलका अनुसार संगीतरत्न शम्भुजित बासकोटासँग गीतकार उन्नति बोहरा शीला, गीतकार विजय शिवाकोटी, गायक शिव परियार, गायिका कालिका रोका, गीतकार पुरुषोत्तम सानु र सुशिला पौडेल, संचारकर्मी कुवेर गिरी र गोपीकृष्ण चापागाई लगायतलाई सम्मान गरिने भएको छ ।
हजारौं गीतमा संगीत भर्नु भएका र स्वर समेत दिनुभएका बास्कोटाका सयौं गीत सुपरहिट भएका छन्। ‘रातो रानी फुले झैं साँझमा’, ‘मायाले बाँध तिमी मलाई’ र ‘तिम्रो त्यो हँसिलो मुहारको’, ‘पूर्णिमाको रात पनि’, ‘चट्ट रुमाल क्या मालुम’ जस्ता सयौँ सदावहार गीतमा उहाँकै संगीत सुन्न सकिन्छ।

चलचित्र विकास बोर्डको अध्यक्ष,नेपाल टेलिभिजनको महाप्रबन्धक,नाट्य प्रज्ञा प्रतिष्ठानको उपकुलपति तथा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको मुख्य संगीत निर्देशकको उच्च ओहोदामा रहेरे कला क्षेत्रको नीतिगत विकासमा समेत दूरगामी योगदान पुर्‍याएका छन् । नेपालकै पहिलो म्युजिक भिडियो ‘मायालु तिमी टाढा’ को निर्देशन गरेर भिडियो प्रविधि भित्राउने श्रेय समेत उहाँलाई नै जान्छ। नेपाली गीत–संगीतको उत्थानमा पाँच दशक भन्दा लामो समय अनवरत र अविस्मरणीय साधनाको उच्च कदर गर्दै बहुआयामिक संगीतकर्मी शम्भुजित बास्काटालाई नगद राशि रु ५१ हजार, सम्मानपत्र र दोसल्ला सहित ‘म्यूजिक खबर दीर्घ साधना सम्मान’ अर्पण गरिने भएको छ।

त्यस्तै समारोहमा लागि गीति लेखनमा सांगीतिक इतिहास बोक्नु भएको गीतकार उन्नती बोहरा ‘शीला’लाई ‘म्युजिक खबर शब्द शीला विशिष्ट सम्मान अर्पण गरिने छ । फर्की आउ शान्ति तिमी जस्तो सदाबहार गीतको रचयिता हुनुहुन्छ। आधुनिक सुगम संगीतमा उहाँका ‘मेरा आसक्ति’, ‘केही पलहरू’ र ‘सिल्की’ जस्ता चर्चित गीति एल्बमहरू उपलब्ध छन् भने उहाँले ‘राज’, ‘चिनो’ र ‘जंगबाज’ जस्ता सुपरहिट चलचित्रका लागि समेत गीत लेख्नुभएको छ।‘नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान’ की पूर्व प्राज्ञ परिषद् सदस्य रहनुभएको उहाँ साहित्यिक र सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ।

यसैगरि समारोहमा साढे तीन दशक बढी समय नेपाली गीत संगीतमा खर्चिएका बरिष्ठ गीतकार विजय शिवाकोटीलाई ‘म्युजिक खबर रजत संगीत सम्मान –२०८२’ सम्मान अर्पण गरिने भएको छ। २०४३ सालदेखि रेडियो नेपालबाट सांगीतिक यात्रा सुरु गरेका गीतकार शिवाकोटीले १ सय ५० भन्दा बढी उत्कृष्ट गीतहरू सुम्पिसक्नुभएको छ। ‘मेरो गीत मन पराउँछ्यौ’ नेपाली सुगम सङ्गीतको सदावहार रचना हो। यस्तै, उहाँका ‘बिहानी शीत बनी’, ‘छैन जून’, ’किन किन’ र ‘भिझाएर आँशु’ जस्ता गीतहरूले पनि सांगीतिक क्षेत्रमा राम्रो छाप छाडेका छन्।

त्यस्तै शिव परियार र गायिका कालिका रोकालाई यस वर्षको ‘म्यूजिक खबर दशकको संगीत सम्मान’ अर्पण गरिने भएको छ। गायक शिव परियार दुई दशक भन्दा लामो समयदेखि गीतसंगीत क्षेत्रमा क्रियाशील रहँदै आउनु भएको छ। उहाँको स्वरमा नेपाली आधुनिक, गजल, पाश्र्व गायन (फिल्म) र लोक–पप विधाका थुप्रै गीतहरू रेकर्ड भएका छन् । हालसम्म १२ एल्बमहरू सार्वजनिक गरिसक्नुभएका गायक परियारका ‘पिउँदिन भन्दा भन्दै’, ‘आँशुको अर्थ के थाहा’, ‘ज्यानै दिन्छु भन्थे’ ‘दिल परानी’ जस्ता गीतहरू कालजयी छन्। यस्तैे ’मैदान’, ’कोही मेरो’, र ’ब्याच नम्बर १६’ जस्ता दर्जनौँ नेपाली चलचित्रहरूका गीतमा उहाँको स्वर सुन्न सकिन्छ। त्यस्तै गायिका कालिका रोका नेपाली लोकदोहोरी क्षेत्रमा सांगीतिक इतिहास बोकेकी गायिका हुनुहुन्छ । उहाँका निरमसी, मुग्लिन पुल तरी, देउरालीमा धजा, घडीको उल्टो घुमेर लगायत थुप्रै गीतहरु हिट छन् । लामो समयको योगदान र संघर्षले खारिएकी उनी विशेषतः लोकदोहोरी क्षेत्रमा मौलिक गायनमा अग्रपक्तिंमा पर्छिन्।

यस्तै सोही समारोहमा स्रष्टाद्वय सुशिला पौडेल र पुरुषोत्तम सानुलाई ‘म्युजिक खबर दशकको संगीत सम्मान’ अर्पण गरिने भएको छ । सुशिला नेपाली सङ्गीत र साहित्य क्षेत्रमा प्रतिभाशाली गीतकार, गजलकार र उपन्यासकाका रुपमा स्थापित भईसक्नु भएको छ । उहाँको पहिलो गीत २०५३ सालमा सर्लाहीकै स्थानीय पत्रिका ‘गोलसिमल’ मा प्रकाशित भएको थियो। त्यस्तै २०५५ सालमा राजेश सापकोटा र दुर्गा खरेलको स्वरमा स्टुडियो रेकर्डेड गीत सार्वजनिक भयो । हालसम्म उहाँको चार दर्जनभन्दा बढी गीतहरू रेकर्ड भइसकेका छन्। उहाँको शब्द सिर्जना र चर्चित सङ्गीतकार अर्जुन पोखरेलको सङ्गीत रहेको आधुनिक गीत ‘सम्हाल्दा सम्हाल्द’ स्रोतामाझ निकै लोकप्रिय छ। यसैगरि गीतकार पुरुषोत्तम सानुले गीति लेखनसँगै सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्दै नाम राख्नु भएको छ।

दर्जनौं गीत लेखिसक्नु भएका गीतकार सानुका सिर्जनाहरूमा देशप्रेम, मानवीय भावना र जीवनका भोगाइहरू सुन्दर ढङ्गले प्रस्तुत भएका हुन्छन्। उहाँको शब्द रचनामा तयार भएको र प्रसिद्ध गायक राजेश पायल राईको स्वर रहेको ‘फर्की आउने हो कि होइन’ बोलको गीत (चलचित्रः मिशन एभरेष्ट) संगीतप्रेमीहरू माझ निकै लोकप्रिय र मर्मस्पर्शी मानिन्छ। त्यस्तै पत्रकारद्वय कुबेर गिरी र गोपिकृष्ण चापागाईंलाई ‘म्युजिक खबर संगीत पत्रकारिता सम्मान’ अर्पण गर्न लागिएको छ।

पत्रकार गिरीले आफ्नो अढाई दशक लामो करियरमा विभिन्न साप्ताहिक, मासिक पत्रिका, नेपाल समाचारपत्र, हिमालयन टाइम्स, सौर्य दैनिक र नेपाल टेलिभिजनको चलचित्र समाचार विधामा काम गरिसकेका छन् । हाल रातोपाटी डटकम मा वरिष्ठ रङ्ग पत्रकारको रूपमा आबद्ध छन । चलचित्र पत्रकार संघ नेपालको केन्द्रीय उपाध्यक्ष (निवर्तमान उपाध्यक्ष) को रूपमा समेत नेतृत्वदायी भूमिकामा रहेर काम गरेका उनी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट उनी नेपाल सरकारको केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) को सदस्य पदमा नियुक्त भएका थिए ।
यसैगरि गोपिकृष्ण चापागाईं नेपाली रङ्ग पत्रकारिता क्षेत्रका एक चर्चित तथा सक्रिय युवा पत्रकार र सञ्चारकर्मी हुन् । नवलपरासीबाट पत्रकारिता सुरु गरेका उनले स्थानीय रेडियो तथा देवचुली टेलिभिजनमा समाचार वाचकको रूपमा काम गरे । पछि काठमाडौँ छिरेर उनले हिमालय टाइम्स राष्ट्रिय दैनिक को मनोरञ्जन विभाग प्रमुख र हिमालय टेलिभिजनमा ‘सेलेब्स टक शो’ प्रस्तोताका रूपमा अनुभव बटुले । उनी सन् २०१५ देखि कला क्षेत्रमा केन्द्रित अनलाइन पोर्टल आर्टिष्ट खबर डटकम को प्रकाशक, सम्पादक तथा निर्देशकका रूपमा सक्रिय हुनुहुन्छ । साथै, उनले नेपाली लोक तथा दोहोरी गायक–गायिकालाई स्थान दिन ‘एके लोक पोडकास्ट’ समेत सञ्चालन गर्छन् । विगत एक दशकभन्दा लामो समयदेखि कला, चलचित्र, गीत–सङ्गीत र संस्कृतिका क्षेत्रमा निरन्तर कलम चलाउँदै आएका उनी हाल चलचित्र पत्रकारहरूको साझा संस्था चलचित्र पत्रकार सङ्घ नेपालको महासचिव र राष्ट्रिय लोक सञ्चारकर्मी नेपालमा प्रचार प्रसार विभाग प्रमुख भएर कार्यभार सम्हालिरहनु भएको छ ।

त्यसैगरी गीतकार पुष्पा खनाललाई ‘१३औं म्युजिक खबर म्युजिक अवार्ड २०८२’को अवसर पारेर ‘म्युजिक खबर डायस्पोरा संगीत सम्मान २०८२’ गरिने भएको छ । नेपाली सांगीतिक क्षेत्रमा शब्द सिर्जनाको अब्बल खानी मानिनुहुन्छ । स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएकी गीतकार खनाल पेशाले पारालिगल र कार्यालय व्यवस्थापकको रुपमा क्रियाशील हुनुहुन्छ । अमेरिकाको भर्जिनियामा कर्मथलो बनाउँदै आउनुभएकै गीतकार खनाल विधागत रुपमा कविता, कथा र गीतलाई नै आत्मसात गर्नुहुन्छ । औपचारिक रुपमा भने २०५५ सालबाट निरन्तर साहित्य लेखनमा क्रियाशील हुनुहुन्छ। २०० बढी गीत लेखिसक्नुभएकी खनालका यसअघि पनि धेरै गीतहरू बजारमा आइसकेका छन् । गीतकार खनालका माया केवल माया,यो आँखाको पानी, एउटा माझी, जिउनै पर्छ, तिम्रो खुशी, प्यासी प्यासी, पिरतीको गीत लगायतका गीतहरु प्रकाशित छन्।

अवार्ड समारोहमा बालकलाकार युनिश घिमिरेलाई यस वर्षको ‘म्युजिक खबर बालप्रतिभा सम्मान–२०८२’ अर्पण गरिने भएको छ। १० वर्षीय घिमिरेले अभिनय तथा नृत्य गरेको पहिलो म्युजिक भिडियो खेम सेन्चुरी र सुनितामी परियारको स्वर रहेको गीत ‘लाजको पर्दा’ हो । त्यसपछि गायक नरेश खाती र गायिका रचना रिमालको स्वरले सजिएको गीत ‘पैसा फुल्ने बुटो’, गायिका सुष्मा शाही ठकुरी र गायक सन्दिप सेन्चुरीको स्वरमा रहेको ‘मकैबारी दर्‍याम दर्‍याम’ गीतको चाइल्ड भर्सनमा अभिनय तथा नृत्य गर्नु भएको छ।

यस्तै गायक, संगीतकार एवं गीतकार डा. रणजित झालाई समारोहको मञ्चमा ‘म्युजिक खबर संगीतकर्मी सम्मान–२०८२’द्वारा सम्मानित गरिने भएको छ । झाले नेपाली संगीतलाई विविध सिर्जनाले समृद्ध बनाएका छन् । शब्द, संगीत र स्वरको त्रिवेणीमार्फत उनले संगीत र साहित्यप्रेमीहरुको मन छुने अनेक सिर्जना दिएका छन्। उनका सिर्जनाहरूले केवल मनोरञ्जन मात्र प्रदान गरेका छैनन्, समाजमा सकारात्मक सोच, संस्कृतिप्रतिको सम्मान र सिर्जनात्मक चेतनाको प्रवाह पनि गरेका छन्। उहाँ पेशागत रुपमा चिकित्सक भएर मानव स्वास्थ्य सेवामा उल्लेखनीय योगदान पुर्‍याउँदै आउनु भएकोे छ। हाल वीर अस्पतालमा कन्सल्टेन्ट सिनियर फिजिसियनका रूपमा कार्यरत हुनुहुन्छ। चिकित्सा सेवा र संगीतजस्ता दुई पृथक् क्षेत्रलाई समान निष्ठा, लगाव र समर्पणका साथ अघि बढाउँदै आउनु भएको छ।

त्यस्तै नेपाली सञ्चार तथा सिर्जनात्मक क्षेत्रको विकास र प्रवद्र्धनमा निरन्तर सक्रिय उदयराज शर्मालाई ‘म्युजिक खबर सञ्चारकर्मी सम्मान–२०८२’ अर्पण गरिने भएको छ । वरिष्ठ टेलिभिजन पत्रकार, छायाँकार, भिडियो सम्पादक, निर्देशक, प्रस्तोता तथा कलाकारका रूपमा उनले करिब दुई दशकदेखि नेपाली कला, गीत, संगीत, साहित्य, चलचित्र, भाषा र संस्कृतिको संरक्षण, संवद्र्धन तथा प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आउनुभएको छ । पत्रकारिताको क्षेत्रमा उनले नेपाल टेलिभिजन, एनटीभी प्लस तथा अन्य सञ्चारमाध्यममार्फत दर्शकमाझ लोकप्रिय बनेका क्ल्याप बोर्ड, भोजपुरी आवाज, मुभीमाला, आईएमई म्युजिकल जर्नी, विकास र बहस, फेशन आवर, मेरो देश मेरो सन्देशलगायतका कार्यक्रममा भिडियो सम्पादक, छायाँकार, रिपोर्टर तथा समाचारकर्मीका रूपमा योगदान दिनुभएको छ।

हाल सिनेमा संसार टिभीको समेत छायाँकार, सम्पादक र रिपोर्टरको कार्यरत हुनुहुन्छ। ५२ घुस्सा ५३ ठक्कर टेलिफिल्मदेखि माइला र भाइमाराजस्ता नेपाली चलचित्रसम्म उहाँको प्राविधिक तथा सिर्जनात्मक संलग्नता रहेको छ। आधा दर्जनभन्दा बढी म्युजिक भिडियो तथा विभिन्न टेलिभिजन विज्ञापनमा पनि उहाँको कार्यदक्षता प्रस्तुत भइसकेको छ। उहाँको योगदानको मूल्यांकन गर्दै म्युजिक खबरले सम्मान अर्पण गर्न लागेको हो।

Leave A Reply

Your email address will not be published.