सुचना, समाचार र मनोरन्जन

मुटुरोग नियन्त्रणमा सरकारदेखि समुदायसम्मको सहकार्य अपरिहार्य

पोखरा, 

नेपालमा नसर्ने रोगको जोखिम बढ्दै गइरहेका बेला मुटुरोगको रोकथाम, समयमै पहिचान र गुणस्तरीय उपचारका लागि सरकार, स्वास्थ्य संस्था, विशेषज्ञ चिकित्सक तथा समुदायबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।

हेल्दी हार्ट नेपाल र गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयको संयुक्त आयोजनामा पोखरामा सम्पन्न ‘गण्डकी हार्ट मिट–२०२६’ तथा मुटुरोगसम्बन्धी समीक्षा कार्यक्रममा सहभागीहरूले मुटुरोग नियन्त्रण उपचारमा मात्र सीमित नरही जनचेतना, स्वस्थ जीवनशैली र विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच विस्तारलाई समान प्राथमिकता दिनुपर्ने धारणा राखेका हुन्।

कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुटुरोग अहिले विश्वव्यापी स्वास्थ्य चुनौतीका रूपमा विकसित भइरहेको उल्लेख गर्दै यसको प्रभाव न्यूनीकरणका लागि सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताए। उनले समयमै रोगको पहिचान, प्रभावकारी उपचार तथा नागरिकमा स्वस्थ जीवनशैलीको विकास गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे।

कार्यक्रममा देशका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत मुटुरोग विशेषज्ञहरूले मुटुरोगको वर्तमान अवस्था, उपचार प्रणाली र पछिल्ला प्रविधिबारे विस्तृत समीक्षा गरेका थिए। छलफलका क्रममा सन्तुलित आहार, नियमित व्यायाम, शारीरिक सक्रियता, धुम्रपान तथा मद्यपानबाट टाढा रहने बानीले मुटुरोगको जोखिम उल्लेखनीय रूपमा घटाउन सक्ने निष्कर्ष प्रस्तुत गरिएको थियो।

मुटुरोग विशेषज्ञ डा. सूर्य देवकोटाले विभिन्न प्राविधिक कार्यपत्र प्रस्तुत गर्दै यस्ता सम्मेलनले चिकित्सकहरूलाई नयाँ उपचार प्रविधिबारे जानकारी अद्यावधिक गर्ने, अनुसन्धानका निष्कर्ष आदानप्रदान गर्ने तथा बिरामीलाई अझ प्रभावकारी उपचार सेवा उपलब्ध गराउन सहयोग पुग्ने बताए। उनका अनुसार मुटुरोगको रोकथामदेखि उपचारसम्मका सबै पक्षमा विशेषज्ञहरूको साझा छलफलले स्वास्थ्य सेवाको गुणस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउँछ।

पर्यटन व्यवसायी गनेशबहादुर भट्टराईले पोखराको भौगोलिक अवस्था, बदलिँदो जीवनशैली, घट्दो शारीरिक सक्रियता र बढ्दो तनावले मुटुरोगको जोखिममा पार्न सक्ने विषयमा धारणा राख्दै स्थानीय परिवेशअनुसार स्वास्थ्य सचेतना अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए।

कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, स्वास्थ्यकर्मी, सरोकारवाला र मुटुरोगको सफल उपचारपछि स्वास्थ्यलाभ गरेका व्यक्तिहरूले पनि आफ्ना अनुभव सुनाएका थिए। उनीहरूले समयमै परीक्षण, सही उपचार र सकारात्मक जीवनशैलीले मुटुरोगलाई नियन्त्रण गर्न सकिने अनुभव साझा गरे।

हेल्दी हार्ट नेपाल पोखराका उपाध्यक्ष भरतराज पराजुलीले यस्ता कार्यक्रमले चिकित्सकहरूबीच ज्ञान, अनुभव र आधुनिक उपचार पद्धतिबारे निरन्तर छलफल गर्ने वातावरण तयार गर्ने विश्वास व्यक्त गरे। उनले कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने चिकित्सक, अतिथि, साझेदार संस्था तथा सहभागीप्रति आभार व्यक्त गरे।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, प्रतिनिधिसभा सदस्य उत्तमप्रसाद पौडेल तथा गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले पनि मुटुरोगले समाजमा पारिरहेको प्रभाव, स्वास्थ्य नीतिका चुनौती तथा समाधानका सम्भावित उपायबारे धारणा राखेका थिए।

कार्यक्रमभर विशेषज्ञहरूले जटिल मुटुरोगको उपचारमा प्रयोग भइरहेका आधुनिक प्रविधि, आपत्कालीन उपचार प्रणाली, बिरामीको जीवनरक्षा तथा उपचार सेवाको गुणस्तर सुधारका विषयमा प्राविधिक समीक्षा गरेका थिए। कार्यक्रमको सञ्चालन हेल्दी हार्ट नेपालका सचिव प्रकाश जीसीले गरेका थिए।

कार्यक्रमले मुटुरोगको रोकथामका लागि उपचार मात्र पर्याप्त नहुने, नागरिकमा स्वस्थ जीवनशैलीको विकास, नियमित स्वास्थ्य परीक्षण, विशेषज्ञ सेवाको सहज पहुँच र सरकार–स्वास्थ्य संस्था–समुदायबीचको समन्वयलाई सुदृढ बनाउनुपर्ने साझा निष्कर्ष निकालेको आयोजकले जनाएको छ।

Leave A Reply

Your email address will not be published.