सुचना, समाचार र मनोरन्जन

मुटु उपचार सेवाको थप विकास र विस्तार आवश्यक

कास्की,

ढेड वर्ष अघि पत्रकार यदुनाथ बञ्जरालाई मुटुमा समस्या देखियो, उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालमा कोमामा राखि उपचार गरियो तर उपचार सम्भव नहुने देखिएपछि हेलिकप्टर मार्फत काठमाण्डौ लगियो । पोखरादेखि काठमाण्डौसम्मको हेलिकप्टर भाडा चार लाख २० हजार लाग्यो । करिव एक महिना काठमाण्डौ बस्दा २० लाखको हाराहारीमा उनको खर्च भयो । गत कात्तिकमा कास्कीको सिक्लेसमा घुम्न जाने क्रममा पोखराका पर्यटन व्यवसायी चित्रबहादुर भट्टराईलाई हट अट्याक भयो । समयमा उनले उपचार पाउन सकेन्न र उनको मृत्यु भयो ।

यि त उदाहरण मात्र हुन, यि र यस्ता समस्या धेरै छन्, यस्ता समस्या कसरि समाधान गर्ने सगै गण्डकी प्रदेश र प्रदेशको राजधानी शहर पोखरामा मुटुको विशिष्टिकृत उपचार सेवा संचालनका लागि के कसरी अघि बढ्ने भन्ने सम्बन्धमा हेल्दी हार्ट नेपाल र स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशले पोखरामा सरोकारवालाहरुलाई राखेर गण्डकी हार्ट मिट २०२६ सम्पन्न गरेको हो ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री, स्वास्थ्य मन्त्री, प्रतिनिधि सभाका सदस्य, प्रदेश सभाका सदस्य, पोखराका मेयर, विभिन्न दलका नेताहरु, नीतिनिर्माता, चिकित्सक, प्राध्यापक, अनुसन्धानकर्ता, विकास साझेदार तथा समुदायका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो । कार्यक्रमका सहभागिहरुबिच अनुभव आदानप्रदान, चुनौतीहरुको समीक्षा, प्रदेशमा मुटु इन्टरभेन्सन सेवाको वर्तमान अवस्था र भावी दिशा, समग्र मुटु शल्यचिकित्सा कार्यक्रम, प्रदेशभरि हृदय स्वास्थ्य सेवाहरुलाई अझ प्रभावकारी र सुदृढ बनाउने लगायतका विविध विषयमा विज्ञहरुको प्रस्तुति सगै छलफल भएको थियो ।

कार्यक्रममा पत्रकार बञ्जराले पोखरामै उपचार नहुदा हेलिकप्टर भाडा सगै काठमाण्डौ बसाईका कारण उपचार महङ्गो पर्न गएको बताए । पोखरामा उपचारको सुविधा भै दिएको भए आफनो खर्च आधा जोगिने थियो भन्दै उनले मुटु रोगका विरामीका लागि विशिष्टिकृत उपचार सेवा पोखरामै आवश्यक रहेकाले स्थापनाका लागि अब ढिलाई गर्न नहुनेमा जोड दिएका थिए ।

मृतक भट्टराईका भाई गणेश बहादुरले दाजुको एक्कासि समस्या सगै मृत्यु हुदा आफु घर आएर निशब्द र स्तब्ध भएको बताए । एक्कासि समस्या देखियो, समयमा अस्पताल पुरयाउन नसक्दा भएको मृत्युका कारण मृत्यु अघि दाजुसंग के कुराकानी भएको थियो भनेर घरमा आएर सुनाउने केही कुरा नभएको उनले बताए । उनले पोखरामा नेपालीका लागि मात्र नभएर घुम्नका लागि आउने विदेशी पर्यटकले समेत मुटुको उपचारका लागि के छ अवस्था भनेर सोध्ने गरेको भन्दै पोखरामा विशिष्टिकृत उपचार सेवा संचालन हुन सके आउने पर्यटकको संख्यामा समेत बृद्धी हुने बताए ।

गण्डकीमा मुटुरोगमाथि विजय: सबैका लागि एउटै साझा दृष्टिकोण भन्ने नारा सहित मनमोहन कार्डियो भास्कुलर एण्ड थोरासिक सेन्टर (त्रिवि शिक्षण अस्पताल, काठमाडौं) का वरिष्ठ मुटुरोग विशेषज्ञ डा. सूर्य देवकोटाको पहल र अगुवाईमा कार्यक्रम सम्पन्न भएको हो । गण्डकी प्रदेशका नागरिकका लागि मुटुरोगको रोकथाम, प्रारम्भिक पहिचान, उपचार तथा दीर्घकालीन मुटु हेरचाह प्रणालीलाई सुदृढ बनाउने उद्धेश्यका साथ कार्यक्रम आयोजना गरिएको डा देवकोटाको भनाई छ । हृदय तथा रक्तनलीसम्बन्धी (कार्डियोभास्कुलर) रोगहरु नेपालमा बिरामीपन, अशक्तता तथा अकाल मृत्युका प्रमुख कारणहरुमध्ये एक रहेको उनले बताए । यसबाट बच्नका लागि नियमित स्वास्थ्य परीक्षण, स्वस्थ जीवनशैली, समयमै निदान र सहज उपचार सेवा आवश्यक रहेको उनले बताए ।

गण्डकी प्रदेशको हृदय स्वास्थ्यको वर्तमान अवस्था तथा कार्डियाक (हृदय) उपचार सेवाको समीक्षा, हृदयसम्बन्धी संस्थाहरुका अनुभव, नवप्रवर्तन तथा सिकाई आदानप्रदान, रोकथाम, निदान, रेफरल, उपचार तथा पुनस्र्थापन सेवाहरुलाई सुदृढ बनाउने, सरकारी निकाय, शैक्षिक संस्था तथा साझेदार संस्थाहरुबीच सहकार्य प्रवद्र्धन गर्ने, प्रदेशभर गुणस्तरीय हृदय उपचार सेवामा सबैको समान पहुँच विस्तार गर्ने, प्रदेशको हृदय स्वास्थ्यका लागि साझा दृष्टिकोण विकास गर्ने, भविष्यका लागि नेतृत्वलाई एकताबद्ध गर्ने साथै स्वस्थ मुटु–समृद्ध गण्डकी निर्माण गर्ने उदेश्य सहित कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिए ।

यस अघि कार्यक्रमको उद्घाटन गदै गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बढ्दो समस्या समाधानका लागि विशिष्टिकृत मुटुरोग उपचार केन्द्र स्थापनाका लागि प्रदेश सरकारले काम गरिरहेको बताएका थिए । कार्यक्रमले प्रदेशका नागरिकका लागि मुटुरोगको रोकथाम, प्रारम्भिक पहिचान, उपचार तथा दीर्घकालीन मुटु हेरचाह प्रणालीलाई सुदृढ बनाउने काममा सहयोग गर्ने भनाई मुख्यमन्त्रीको रहेको थियो ।

कार्यक्रमको अन्त्यमा “गण्डकी प्रदेशमा मुटुरोगको रोकथाम र उपचार“ विषयमा उच्चस्तरीय प्यानल छलफल गरिएको थियो । छलफलमा प्रतिनिधिसभा सदस्य उत्तम पौडेल, प्रदेशसभा सदस्य प्रकाश बराल, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका सचिव डा. युवानिधि बसौला, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. मनोज कोइराला, मणिपाल अस्पतालका नारायण पौडेल सहभागि रहेका थिए ।

मिटका न्यूनतम साझा प्रतिवद्धता
कार्यक्रम पछि सरोकारवालाहरुले नेपालमा हृदय तथा रक्तनलीसम्बन्धी (कार्डियोभास्कुलर) रोगहरु बिरामीपन, अशक्तता तथा अकाल मृत्युका प्रमुख कारणमध्ये एक रहेको उल्लेख गर्दै गण्डकी प्रदेशमा गुणस्तरीय मुटु उपचार सेवाको पहुँच विस्तार, रोकथाम, प्रारम्भिक निदान, प्रभावकारी रेफरल प्रणाली तथा पुनस्र्थापन सेवाको सुदृढीकरणमा जोड दिने भन्दै दुई बुँदे न्युनतम साझा प्रतिवद्धता जारी गरेको स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका सचिव डा. युवानिधि बसौलाले जानकारी दिए ।

१. मुटु रोगको बढ्दो जोखिमलाई गम्भीर जनस्वास्थ्य संकटका रुपमा लिंदै यसको रोकथामका लागि सम्पूर्ण सरोकारवालाहरु एकीकृत र समन्वयात्मक पहल गर्न प्रतिबद्धता व्यक्त गर्दछौं।
२. उपचार सेवाको सुदृढीकरणका सम्बन्धमा विद्यमान आधारभूत पूर्वाधारलाई जग मानी आपसी सहकार्यमार्फत मुटु उपचार सेवाको थप विकास र विस्तार गर्ने प्रतिबद्धता जनाउँदछौं ।

हाल गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, मणिपाल शिक्षण अस्पताल, गण्डकी मेडिकल कलेज र चरक मेमोरियल अस्पतालमा क्याथ ल्याव सहितको मुटु रोगको उपचार सेवा उपलब्ध भएपनि सम्पुर्ण उपचार सेवा भने उपलब्ध छैन्न, साथै एक जना शल्यचिकित्सक समेत पोखरामा छैन्न जस्का कारण विरामीहरु काठमाण्डै जानुपर्ने बाध्यता रहेको छ ।

Leave A Reply

Your email address will not be published.