म्याग्दी : जिल्ला उज्यालो जिल्ला घोषणा गर्ने तयारी भएको छ । ९५ प्रतिशतभन्दा बढी घरपरिवारमा बिजुलीको सुविधा पुगेको म्याग्दीलाई उज्यालो जिल्ला घोषणा गर्न लागिएको खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर झलकमोहन ओझाले सबै घरपरिवारमा केन्द्रीय लाइन, लघुजलविद्युत् र सौर्य ऊर्जाको पहुँच पुगेकाले गण्डकी प्रदेश सरकारको मापदण्डअनुसार उज्यालो जिल्ला घोषणा गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको बताए ।
‘राष्ट्रिय जनगणनाको प्रतिवेदन र कार्यालयले गरेको सर्वेक्षणका क्रममा म्याग्दीका सबै घरमा कुनै न कुनै किसिमको विद्युत् सुविधा पुगेको देखिन्छ,’ उनले भने, ‘स्थानीय तहमार्फत तथ्यांकलाई पुष्ट्याइँ गरेर उज्यालो जिल्ला घोषणा गर्न लागिएको हो ।’ केन्द्रीय लाइन र लघु जलविद्युत् परियोजना नभएका कुनै घर भएमा सौर्य ऊर्जा जडानका लागि प्रदेश सरकारले ७५ प्रतिशत अनुदान उपलब्ध गराउने विषयमा पनि स्थानीय तहमार्फत जानकारी गराइएको कार्यालय प्रमुख ओझाले बताए ।

राष्ट्रिय जनगणना– २०७८ को नतिजाअनुुसार म्याग्दीमा रहेको २८ हजार ८३० घरपरिवारमध्ये उज्यालोका लागि ९५.१ प्रतिशतले बिजुली, ३.४ प्रतिशतले सोलार, ०.५ प्रतिशतले मट्टीतेल, ०.४ प्रतिशतले बायोग्यास र ०.९ प्रतिशतले अन्य माध्यम प्रयोग गर्छन् । जनगणनाका क्रममा कुनै पनि विद्युतकाे सुविधा नपुगेको देखिएको धवलागिरि गाउँपालिकाको मराङ, सिम्कोस, अर्चे, वारवाङ, नाउरा, जुरुकोष र छहरीका १२० र मालिका गाउँपालिकाको जेमका एक सय घरमा प्रदेश सरकारको बजेटबाट सौर्य ऊर्जा जडान गरिएको थियो । तीमध्ये अधिकांश बस्तीहरूमा अहिले केन्द्रीय प्रसारणलाइनको विद्युत् पुगिसकेको छ ।
गण्डकी प्रदेश सरकार स्थापना भएदेखि नै उज्यालो प्रदेशको कार्यक्रममार्फत विद्युत् सुविधा विस्तारका कार्यक्रम सञ्चालन हुँदै आएको छ । केन्द्रीय लाइन नपुगेको र पुुग्न नसक्ने ठाउँमा लघुजलविद्युत् परियोजना निर्माण, मर्मत–सम्भार र सौर्य ऊर्जा जडान गर्ने योजना सञ्चालन भएको हो । म्याग्दीको धवलागिरि गाउँपालिका– १ गुर्जाबाहेकका बस्तीमा चालू आर्थिक वर्षमा केन्द्रीय प्रसारणलाइनको विद्युुत् सुविधा पुग्ने नेपाल विद्युत् प्राधिकरणको बेनी वितरण केन्द्रले जनाएको छ । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित दुई सय ५० घरपरिवारको बसोबास रहेको गुर्जामा लघुजलविद्युत् परियोजनाको सुविधा छ ।
नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रअन्तर्गत २३ हजार विद्युतका ग्राहक छन् । आर्थिक वर्ष ०८०/८१ मा एक हजार चार सय, ०७९/८० मा १ हजार दुई सय ३८ र ०७८/७९ मा ७७० घरमा केन्द्रीय लाइन जडान भएको विद्युत् प्राधिकरणको म्याग्दी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले बताए । यस वर्ष मालिका गाउँपालिकाको पात्ले, चिउरीबोट, धवलागिरिको लुलाङ, लमसुङ, खोरिया, नेरवाङ, अर्चे, मल्कवाङ र रघुगंगाको कुइनेमंगले क्षेत्रका करिब ६ सय घरमा केन्द्रीय लाइनको विद्युत् विस्तारको काम अन्तिमचरणमा पुगेको छ । म्याग्दीका दुई हजार घरधुरीमा केन्द्रीय लाइन विस्तारका लागि ०७९ मा नेपाल विद्युत् प्राधिकरणमार्फत रु. २० करोड बजेट विनियोजन गरेर योजना सञ्चालन गरिएको छ ।