पोखरा,
नमस्ते ब्याण्डले ३७ औं वार्षिक उत्सव र नेपाल जापान मैत्री सम्बन्ध ७० वर्षको उपलक्ष्यमा १९ औं महाशिवरात्री विश्वसंगीत महोत्सव आयोजना गर्ने भएको छ ।
विगत ३६ वर्षदेखि नेपालमा मात्र नभएर विश्वमा नै एक अमिट छाप राख्न सफल भएको नमस्ते व्याण्डले फागुन १ गते काठमाडौँमा, फागुन ३ गते आईतबार लेकसाईड पोखरामा र मार्च महिनामा जापानको टोकियोमा महाशिवरात्रीको छेको पारी सांगितिक कार्यक्रम आयोजना गर्न लागेको संयोजक ईश्वर गुरुङले जानकारी दिएका छन ।
नमस्ते व्याण्डले महाशिवरात्री पर्वको अवसरमा आयोजना गर्ने विश्व संगीत महोत्सवको यो १९ औं संस्करण हो । फागुन ३ गते साँझ ६ बजेदेखि पोखराको लेकसाईडमा आतिसबाजी, शिवधुनी सहित नमस्ते व्याण्डको प्रस्तुती रहनेछ । नमस्तेको प्रस्तुती पश्चात अन्य राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकारको प्रस्तुतीले दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछ ।
व्याण्डले आउँदा दिनहरुमा निरन्तर कार्यक्रम र सांगीतिक कोसेली पस्कने संयोजक गुरुङले बताए । नेपाल तथा जापानका विभिन्न ठाउँमा हुने सांगितिक महोत्सवमा दशर्कको व्यापक सहभागीता रहने अपेक्षा उनको छ । ५० को दशकमा पोखराका पप व्याण्डको सक्रियता र चर्चाका कारण नेपाली सांगीतिक क्षेत्रमा महत्वपूर्ण उपस्थिति रहेको स्मरण गर्दै पुन: पोखराको सांगीतिक क्षेत्र पुरानै अवस्थामा फर्कन सक्ने आशा थपिएको बताएका छन ।
चलचित्र पत्रकार संघ नेपाल कास्कीका अध्यक्ष सन्तोष बस्यालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सञ्चालन चलचित्र पत्रकार संघ नेपाल कास्कीका सचिव सुरेश परियारले गरेका थिए ।
