सिड्नी,
कलाकार, सञ्चारकर्मी तथा व्यवसायी नवीन घायलले करिब १९ वर्षअघि आफ्नै लेखन तथा निर्माणमा तयार पारेको चलचित्र ‘नारीको वेदना’ पुनः दर्शकमाझ ल्याएका छन्। लामो समयपछि चलचित्रलाई युट्युबमार्फत सार्वजनिक गर्दै उनले आफ्नो पुरानो सिर्जनात्मक यात्रालाई नयाँ पुस्तासम्म पुर्याएका हुन्।
गत ११ सेप्टेम्बरमा युट्युबमा सार्वजनिक गरिएको ‘नारीको वेदना’ ले छोटो समयमै करिब १५ हजारभन्दा बढी भ्युज प्राप्त गरेको घायलले बताएका छन्। झन्डै दुई दशक पुरानो सिर्जनाले डिजिटल माध्यममार्फत नयाँ पुस्ताका दर्शकसँग जोडिन पाउनु आफ्ना लागि उत्साहजनक रहेको उनको भनाइ छ।
सन् २०१७ मा अस्ट्रेलिया पुगेका घायल हाल सिड्नीलाई आफ्नो कर्मथलो बनाएर व्यवसायसँगै कलाकर्मलाई पनि निरन्तरता दिइरहेका छन्। उनले ‘पोखरा ड्राइभिङ स्कुल सिड्नी’ सञ्चालन गर्दै व्यावसायिक ड्राइभिङ प्रशिक्षकका रूपमा काम गरिरहेका छन्। उनका अनुसार हालसम्म पाँच सयभन्दा बढी विद्यार्थीलाई ड्राइभिङ टेस्ट उत्तीर्ण गर्न सहयोग गरिसकेका छन्।
सुरक्षित, जिम्मेवार र आत्मविश्वासी चालक तयार गर्नु आफ्नो पेशागत उद्देश्य रहेको घायल बताउँछन्।
तर उनको परिचय ड्राइभिङ प्रशिक्षकमा मात्र सीमित छैन। उनी लामो समयदेखि नेपाली कला र सञ्चार क्षेत्रमा सक्रिय रहँदै आएका छन्। नेपालमा रहँदा उनले पोखरा पत्र, जनमत, समाधान, चेतनापत्र, भिजन नेपाल र तालनगरी लगायतका पत्रपत्रिकामा रंग पत्रकारका रूपमा काम गरेका थिए। त्यस्तै, हिमचुली एफएम पोखरामा समाचार सम्पादक तथा समाचार वाचकको जिम्मेवारीसमेत निर्वाह गरेका थिए।

पत्रकारितासँगै अभिनय र चलचित्र निर्माणमा समेत सक्रिय घायलले तीन दर्जनभन्दा बढी म्युजिक भिडियो तथा करिब १६–१७ वटा नेपाली चलचित्रमा अभिनय गरेको बताएका छन्। अभिनयसँगै उनले चलचित्र लेखन तथा निर्माणमा समेत काम गरेका छन्।
उनकै सिर्जनात्मक यात्राको महत्वपूर्ण कृतिका रूपमा रहेको ‘नारीको वेदना’ मा महिला संवेदना र संघर्षसँगै सामाजिक विभेद, छुवाछूत, एचआईभी/एड्स सचेतना तथा लागुऔषधको समस्याजस्ता तत्कालीन समाजका गम्भीर विषय समेटिएका छन्।
आफ्नै लेखन तथा निर्माणमा तयार भएको चलचित्रलाई घायलले मनोरञ्जनको माध्यम मात्र नभई सामाजिक विषयप्रतिको आफ्नो दृष्टिकोण र सिर्जनात्मक जिम्मेवारीका रूपमा लिएका छन्।

अस्ट्रेलियाको व्यस्त जीवनका बीच पनि उनले कलाकारितालाई भने निरन्तरता दिइरहेका छन्। अस्ट्रेलियामै निर्माण भएको चलचित्र ‘पीआर’ मा उनले अभिनय गरेका छन्। उक्त चलचित्रमा उनले ‘मोती’ पात्रको भूमिका निर्वाह गरेका छन्।
विदेशमा रहेर पनि नेपाली कला र सिर्जनासँगको सम्बन्धलाई निरन्तरता दिँदै आएका घायलका लागि १९ वर्षपछि ‘नारीको वेदना’ पुनः सार्वजनिक हुनु पुरानो चलचित्रलाई दर्शकमाझ ल्याउनु मात्र होइन, आफ्नो विगत, संघर्ष र कलाकारितासँग पुनः जोडिनु पनि हो।
व्यवसाय र कलालाई सँगसँगै अघि बढाइरहेका घायलको यात्राले पेशा र भूगोल परिवर्तन भए पनि सिर्जनाप्रतिको लगावलाई निरन्तरता दिन सकिने देखाएको छ।