काठमाडौं :
अष्ट्रेलियामा अभिनेता तथा निर्माता नवल खड्का सम्मानित भएका छन्। आफु अभिनित फिल्म ‘काँडेतार’ लिएर अष्ट्रेलिया पुगेका अभिनेता खड्कालाई त्यहाँ रहेका नेपालीले सम्मान गरेका हुन्।
अष्ट्रेलियाको सिड्निमा देशभक्तिपूर्ण काँडेतारलाई यहि २२ फेब्रुअरी २०२५ अर्थात शनिवार सिभिक थिएटरमा भब्य र सभ्य रूपमा विशेष प्रदर्शन सम्पन्न गरिएको छ। यसै अवसरमा आयोजक डि. वोईज ईन्टरटेनमेन्टका सञ्चालक जीएम ठकुरी, पूर्व महाबाणिज्य दुत तथा समाजसेवी दिपक खड्का, एनआरएन अष्ट्रेलियाका पूर्व अध्यक्ष मन केसी साथै मनोज अधिकारी र सिड्नि निवासी नेपालीहरूको तर्फबाट नेपाली चलचित्रको माध्यमबाट नेपाली समाजलाई पुर्याउनु भएको योगदानको उच्च मुल्यांकन गर्दै निर्माता तथा कलाकार खड्कालाई सम्मान गरिएको जीएम ठकुरीले जानकारी दिए।
यो फिल्म यथार्थपरक र राष्ट्रप्रेमले ओतप्रोत भएकाले फिल्मलाई दर्शकहरूले साह्रै उत्कृष्ट प्रतिक्रिया पाएका छौ त्यसकारण अब अष्ट्रेलियाको अन्य स्थानमा थप शोहरू हुने ठकुरीले जानकारी गराए। अष्ट्रेलिया, सिड्नि निवासी प्रति आभारी छु भन्दै सामाजिक सञ्जालमार्फत खड्काले धन्यवाद दिएका छन्। देशभक्ति पूर्ण चलचित्र हेर्न आउनु भएका सम्पूर्ण सिडनि र यसको आसपासमा रहनु, बस्नु हुने तपाईं प्रिय चलचित्रकर्मी, नेपालीजन र प्रत्यक्ष, अपत्यक्ष रूपमा सहयोग पुर्याउनु हुने प्रति निर्माता खड्काले आभार व्यक्त गरे।
काँडेतारमा गायिका सत्यकला राई कार्यकारी निर्माता, अन्जु केसी, माकिको राई, नादिया खड्का, सनया खड्का निर्माता रहेको छ। नवल खड्का, सुरविना कार्की, रेविका गुरूङ, गौरव पहाडी, प्रशान्त यादव, मुरलिधर, प्रेम सुब्बा आदि कलाकारको अभिनय रहेको काँडेतारको निर्देशक स्वयं नवल खड्का हुन्। निर्माण पक्षका अनुसार काँडेतार नेपालमा पुनः प्रदर्शन गरिने भएको छ। यो फिल्म गत वर्ष फागुन २५ गते शिवरात्रीबाट प्रदर्शनमा आएको थियो। तर हलवालाहरुले शो नदिए पनि हलबाट उतारिएको थियो।