सुचना, समाचार र मनोरन्जन

नीताको निर्देशनमा बन्ने ‘सुख दुःख’मा बलिउडका दिपराज पनि खेल्ने

काठमाडौं :

सन् २००२ मा भारतीय फिल्म साथियामा सहायक अभिनेताका रूपमा आफूलाई स्थापित गरेका बलिउड अभिनेता दिपराज राणाले नेपाली फिल्म सुख दुःखमा अभिनय गर्ने भएका छन्। उनलाई फिल्मका लागि यस फिल्मकी अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीको टिमले अनुबन्ध गरेको हो।

सिंघम रिटर्न्स, प्रेम रतन धन पायो, दबंङ ३ लगायत पछिल्लो समय मेट्रो इन डिनो, बिल्ली उस्ताद, सितारे जमीं पर जस्ता फिल्ममा अभिनय गरेका दिपराजले नेपाली फिल्म कोहिनूरमा समेत अभिनय गरेका थिए। स्व. श्रीकृष्ण श्रेष्ठको उक्त फिल्ममा अभिनय गरेको लामो समयपछि उनी पुनः नेपाली फिल्ममा देखिन लागेका हुन्।

नीताको निर्देशनमा बन्ने फिल्म सुख दुःखको कथा मन परेको कारण आफू यस फिल्ममा काम गर्न इच्छुक भएको उनको भनाइ छ। निर्माण पक्षका अनुसार, फिल्मको कथा सुनेपछि दिपराज भावुक बनेका थिए। तर, उनको भूमिकाबारे निर्माण पक्षले खुलासा गरिसकेको छैन।

आगामी फागुनदेखि छायांकन सुरु गर्ने तयारीमा रहेको यस फिल्मका लागि निर्माण टिमले हालै विपना थापालाई पनि अनुबन्ध गरेको छ। यसअघि नीता र विपनाले फिल्म ह्रस्वदीर्घमा सहकार्य गरेका थिए। यो उनीहरूको दोस्रो सहकार्य हो। फिल्ममा दिपराज, विपना बाहेक मिथिला शर्मा र मदनकृष्ण श्रेष्ठ अनुबन्ध भइसकेका छन्। अन्य कलाकारबारे भने निर्माण टिमले खुलासा गरेको छैन।

फिल्मको छायांकनका लागि चर्चित भारतीय छायाँकार कवीरलाल र शाहिदलाललाई अनुबन्ध गरिएको छ। नीता फिल्म्सको ब्यानरमा बन्ने यो फिल्म आगामी वर्ष दसैंको फूलपातीबाट प्रदर्शनमा आउने तयारीमा छ। फिल्मको वितरण अधिकार उपत्यकाबाहिर एफडी कम्पनीले लिएको छ भने उपत्यकाभित्र रिच इन्टरटेनमेन्टले वितरण गर्नेछ।

Leave A Reply

Your email address will not be published.