काठमाडौँ :
अटिजम भएकी दिदी र भाइबीचको कारुणिक सम्बन्धको कथामा आधारित फिल्म ‘पार्वती’को ट्रेलर सार्वजनिक भएको छ। बिहिबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत उक्त ट्रेलर रिलिज गरिएको हो।
निर्माण पक्षले आगामी भदौ १२ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको उक्त फिल्मको ४ मिनेट लामो आधिकारिक ट्रेलर युट्युब च्यानल ओएसआरमार्फत रिलिज गरेको हो। अभिनेत्री नीता ढुङ्गानाको निर्देशनमा बनेको यस फिल्ममा ढुङ्गाना स्वयं र बालकलाकार अशोक दर्जी मुख्य भूमिकामा रहेका छन्। अटिजमपीडित बालिकाले विद्यालय र समाजमा भोग्नुपर्ने लाञ्छना,हेपाई र त्यसका विरुद्ध भाइको समर्पणलाई फिल्मको मुख्य विषयवस्तु बनाइएको छ।
फिल्ममा दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल र दीप्त प्रकाश अधिकारीको समेत अभिनय छ। नीता ढुङ्गानाकै कथा तथा पटकथा रहेको यस फिल्मको स्क्रिप्ट शिवम् अधिकारीले तयार पारेका हुन्। हरिहर अधिकारी निर्माता रहेको फिल्मको कार्यकारी निर्माता र प्रोडक्सन म्यानेजर शंकर पाण्डे हुन्।
सुदीप बरालको छायाङ्कन, साहिल खानको सम्पादन तथा रामजी लामिछानेको नृत्य निर्देशन रहेको फिल्मको वितरण एफडी कम्पनी, एप्पल इन्टरटेनमेन्ट र रिच इन्टरटेनमेन्टले गर्नेछन्। बाबुल गिरी, हर्क साउद र दीपक शर्माको गीत तथा संगीत रहेको फिल्मको डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ।