जापान :
जापान टूरमा रहेको नेपाली लोक–रक ब्याण्ड नेपथ्यले राजधानी टोकियोमा भब्य प्रस्तुति दिँदै दर्शकलाई मन्त्रमुग्ध बनाएको छ। मंगलबार बेलुकी टोकियो डमको तोयोसु पिट हलमा आयोजित कन्सर्टमा हजारौं दर्शक उपस्थित थिए। मुख्य गायक अमृत गुरुङले आफ्ना लोकप्रिय गीतमार्फत दर्शकलाई छमछमी नचाए।
कन्सर्टमा ब्याण्डले १६ वटा गीत गाएर दुई घन्टा भन्दा बढी समय दर्शकसँग मनोरञ्जन बाँडे। ‘घिनिनिनि, तिनिनिनि, तिनिनिनि, घिनिनिनि’ बाट सुरु भएको प्रस्तुति अन्य चर्चित गीतहरू ‘भेडाको ऊनजस्तो’, ‘मैं नाचें छमछमी’, ‘रेशम’, ‘तालको पानी’ मार्फत उत्कर्षमा पुगेको थियो। गीतसँगै दर्शकले पनि मजाले झुम्दै मनोरञ्जन लिन सके।
अमृत गुरुङले कन्सर्टका क्रममा ३ दशकभन्दा लामो संगीत यात्राको अनुभव साझा गर्दै विदेशी भूमिमा रहेका नेपालीलाई सीप सिकेर, धन कमाएर देश फर्कन र समाजमा योगदान गर्न आग्रह गरे। “नेपालमा अझै हजारौंले शिक्षा र उपचार पाएका छैनन्। तपाईंहरूको एक दिनको कमाइले पनि उनीहरूलाई सहयोग गर्न सक्छ,” उनले भने।
कन्सर्टको अन्त्यतिर राष्ट्रप्रेमी गीत ‘रातो र चन्द्रसूर्य’ गुञ्जिँदा उपस्थित दर्शकले छातीमा हात राखेर अमृतलाई साथ दिए। अमृतले दर्शकसँग अन्तिममा राष्ट्रिय चेतना र प्रेमको सन्देश पनि दिए,“हिमालयको देश र हाम्रो झण्डालाई कहिल्यै झुक्न नदिनुहोला। पुर्खाहरूले आर्जेको देशलाई कहिल्यै नभल्नुहोला।”
कन्सर्टमा अमृत गुरुङलाई ध्रुव लामा (ड्रम), सुरज थापा (किबोर्ड), सुविन शाक्य (बेस गितार), निरज गुरुङ (गितार) र शान्ति रायमाझी (मादल)ले साथ दिएका थिए। नेपथ्य टूरको अन्तिम प्रस्तुति आउँदो सोमबार, २४ नोभेम्बरमा ओसाकामा हुने जनाइएको छ।