हप्ताको अन्तिम कारोबार दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव ४९ अङ्कले बढेर २ हजार ७४५ दशमलव ६५ विन्दुमा पुगेको छ ।
नेप्से १५ कारोबार दिनपछि दोहोरो अङ्कले बढेको हो । यसअघि वैशाख २ गते नेप्से ३३ अङ्कले बढेको थियो ।
आज व्यापार समूहको सूचक स्थिर रहँदा सबै समूहको सूचक बढेको छ । आज फाइनान्स, जलविद्युत्, निर्जीवन बीमा समूहको सूचक डेढ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।
आज २३५ वटा कम्पनीको शेयर बढेकोमा २६ वटाको घटेको छ । यस्तै ८ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।
आज त्रिशूली जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन स्वावलम्बन लघुवित्तको शेयर सबैभन्दा धेरै साढे ६ प्रतिशतले घटेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो २ अर्ब ९३ करोडको कारोबार भएकोमा आज ३३५ वटा कम्पनीका ७४ लाख ७८ हजार कित्ता शेयर ३ अर्ब २८ करोड रुपैयाँमा किनबेच भएको छ ।