पोखरा/
पोखरामा सम्पन्न छैटौंँ गण्डकी प्रदेशस्तरीय विज्ञान हाजिरीजवाफ प्रतियोगितामा न्यू मोडल माध्यमिक विद्यालयको टिमले पुनः आफ्नो वर्चस्व कायम गर्दै पहिलो स्थान हासिल गरेको छ । अनिज पोखरेल र सुरज जैसवालको नेतृत्वमा रहेको न्यू मोडलको टिमले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान प्राप्त गरेको हो ।
विजयी टिमले टिमले नगद १५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त ग¥यो । सोही विद्यालयको अर्को टिम, साईमोन क्षेत्री र ओजस्वी पौडेलको समूहले दोस्रो स्थान हासिल गर्दै नगद १० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र पाएको छ ।
प्रतियोगितामा डायमण्ड माविले तेस्रो स्थान प्राप्त गर्दै ८ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र जित्यो । सान्त्वना पुरस्कारका रूपमा मदरल्याण्ड मावि ‘ए’, मदरल्याण्ड मावि ‘बी’, र एसओएस हर्मन माइनर विद्यालयले नगद ४ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र पाए । विज्ञान शिक्षक समाज नेपाल (स्टान) कास्कीको आयोजनामा गत १४ र १५ गते सम्पन्न प्रतियोगितामा गण्डकी प्रदेशभरका १०४ विद्यालय सहभागी रहेको थियो ।

प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास, शिक्षा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापा र गण्डकी विश्वविद्यालयका डिन डा. कपिल उपाध्यायले संयुक्त रूपमा गरेका थिए । समापन कार्यक्रममा प्रमुख अतिथि पृथ्वीनारायण क्याम्पसका सहायक क्याम्पस प्रमुख मीनराज लम्साल रहेका थिए ।
स्टान कास्कीका अध्यक्ष शान्तराम लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्टान गण्डकीका अध्यक्ष राजकुमार ढकाल, सचिव सुजन लम्साल र मदरल्याण्ड माविका प्राचार्य डा. नारायण बराललगायतले विजयी टिमलाई शुभकामना दिएका थिए ।
न्यू मोडल माध्यमिक विद्यालयले गत वर्ष पनि सोही प्रतियोगितामा च्याम्पियन बन्ने गौरव हासिल गरेको थियो । यसपालि पनि शीर्ष स्थानमा रहँदै विद्यालयले आफ्नो उत्कृष्टता प्रमाणित गरेको निर्देशक लक्ष्मण पोखरेलले जानकारी दिए । यस प्रतियोगिताले गण्डकी प्रदेशका विद्यालयहरूको शैक्षिक स्तर र विज्ञानप्रतिको चासोमा सुधार ल्याउने विश्वास आयोजकले व्यक्त गरेका छन् । विजयी टिमहरूको मिहिनेतले विद्यार्थीहरूमा विज्ञान र प्रतिस्पर्धात्मक भावना जागृत गरेको छ ।