काठमाडौं :
सांस्कृतिक पहिचान, भाषा, लिपि र परम्पराको संरक्षण उद्देश्यसहित आयोजित सौन्दर्य प्रतियोगिता ‘नेवा मैचा बौचा नेपाल संवत् ११४६’मा नेवा मैचातर्फ अनुसिया मानन्धर र नेवा बौचातर्फ निर्वेश श्रेष्ठ विजेता घोषित भएका छन्। निर्वेशले विधागत श्रेणीअन्तर्गत पर्सनालिटी अवार्ड पनि हात पारे।
नेवा मैचातर्फ समाना महर्जन फस्ट रनर–अप तथा मल्टिमिडिया विजेता बने भने नेरिशा महर्जन सेकेन्ड रनर–अप घोषित भइन्। नेवा बौचातर्फ अथर्व प्रधान फस्ट रनर–अप र अनम दर्शी वज्राचार्य सेकेन्ड रनर–अप बने।
प्रतियोगितामा विभिन्न विधागत शीर्षकहरू प्रदान गरिए। मेधावी तुलाधर (अनुशासन), उन्नति बज्राचार्य (एक्टिभ), निभा महर्जन (शैक्षिक), जैज्बी यचु श्रेष्ठ (बुद्धिमान), अकिला शाक्य (चित्रमय), सियोना मानन्धर (सह–पाठ्यक्रम), उत्सव श्रेष्ठ (उत्कृष्ट पोशाक), समृद्धि महर्जन (स्टाइल आइकन), पुवा उर्जा तुलाधर (उत्कृष्ट मुस्कान), अभिषेक श्रेष्ठ (आकर्षक), युवानी महर्जन (उत्कृष्ट नेपाल लिपि), ऐशना महर्जन (नेतृत्व), अर्दिता महर्जन (उत्कृष्ट संस्कृति), प्रशन्न महर्जन (प्रतिभा), सदिच्छा महर्जन (उत्कृष्ट नेपाल भाषा), आराग्या तुलाधर (इनोसेन्ट) उपाधि विजेता बने।
प्रतियोगिताको निर्णायकमा शिक्षाविद् रामेश्वर श्रेष्ठ, मोडल तथा अभिनेत्री सृष्टि महर्जन, गायक उजन शाक्य, न्यु जेनिथ इङ्लिस मोर्डन स्कुलका संस्थापक प्रिन्सिपल राजु महर्जन र रन्जना लिपि विज्ञ लालिमा श्रेष्ठ रहेका थिए। फेसन कोरियोग्राफी रोहिया महर्जन, नृत्य कोरियोग्राफी सิตु महर्जन र पोशाक डिजाइन डिना गुरुङले सम्हाले।
प्रमुख अतिथि कलाकार नारायदेवी प्रधानको उपस्थितिमा सम्पन्न प्रतियोगितामा बालबालिकाले सांस्कृतिक ज्ञान, व्यक्तित्व, अनुशासन, प्रतिभा र प्रस्तुतीकरणका आधारमा प्रतिस्पर्धा गरेका थिए। आयोजक कलस इभेन्टका कार्यकारी अध्यक्ष सञ्जय महर्जनले नेवार समुदायका बालबालिकाको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए। इभेन्टकी प्रबन्ध निर्देशक वर्षा महर्जनले प्रतियोगितालाई आगामी वर्षमा पनि निरन्तरता दिने घोषणासमेत गरिन्।