सुचना, समाचार र मनोरन्जन
IVF New Banner

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न प्रदेश सरकारद्वारा अध्ययन समिति गठन

पोखरा/

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न गण्डकी प्रदेश सरकारले अध्ययन समिति गठन गरेको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०८०÷८१ मा लिएको नीति तथा कार्यक्रम कार्यन्वयन गर्न सरकारले गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा। कृष्णचन्द्र देवकोटाको अध्यक्षतामा समिति गठन गरेको हो । विभिन्न संस्थाका प्रतिनिधि, पर्यटन विज्ञ सहित ११ जना समिति सदस्य रहेका छन् ।

Exchange and test

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेशले पोखरालाई पर्यटकीय राजधानीको रुपमा विकास गर्ने सम्बन्धी संक्षिप्त अवधारणापत्र तयार गरिसकेको छ । सोही अवधारणापत्र बमोजिम विस्तृत अध्ययन गर्न समिति गठन गरिएको हो ।

पोखरालाई पर्यटकीय राजधानीको रुपमा विकास गर्न आवश्यक पर्यटकीय पूर्वाधारको विकास तथा सेवाको गुणात्मकता वृद्वि गर्ने नीतिलाई कार्यान्वयन गर्न अध्ययन समिति गठन गरिएको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताए । गण्डकी प्रदेशको समृद्धीको मुख्य आधार पर्यटन भएकाले प्रदेश सरकारको प्राथमिकतामा पर्यटन क्षेत्र रहेको उनले बताए।
पोखराको नयाँ पर्यटकीय गन्तव्यहरुको पहिचान, विकास तथा प्रचारप्रसार र विद्यमान पर्यटकीय पूर्वाधारहरुको विकास तथा विविधीकरण गरी पोखरालाई नेपालको पर्यटकीय राजधानीको रुपमा विकास र घोषणा गर्न विस्तृत अध्ययन गरी ३० दिनभित्र प्रतिवेदन पेश गर्ने गरी समितिको कार्यक्षेत्र र कार्यअवधि तोकिएको छ ।

पर्यटकीय राजधानीको रुपमा विकास गर्न आवश्यक पूर्वाधारहरुको पहिचान गर्ने, पर्यटकीय राजधानीको रुपमा विकास गर्नका लागि सेवाको गुणात्मकता बृद्वि गर्न अवलम्बन गर्नुपर्ने विषयको पहिचान गर्ने, प्रदेश राजधानी घोषणा गर्नका लागि आवश्यक मापदण्डहरुको पहिचान गर्ने, प्रदेश राजधानी घोषणा गर्ने प्रक्रियाहरु पहिचान गर्ने, संघ सरकारसँग समन्वय गर्ने,अध्ययन प्रतिवेदन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गर्ने गरि समितिको कार्यक्षेत्र तोकिएको छ ।

Leave A Reply

Your email address will not be published.