सुचना, समाचार र मनोरन्जन

कालापानी विवाद अन्तर्राष्ट्रियकरण गर्नुपर्छ: जनमोर्चा

काठमाडौँ/

राष्ट्रिय जनमोर्चाले कालापानी विवादलाई अन्तर्राष्ट्रियकरण गरिनु पर्ने बताएको छ । भारतले सो क्षेत्रलाई कब्जा गरेर भारतीय सङ्घमा मिलाउनका लागि लामो समयदेखि विभिन्न षड्यन्त्र गर्दै आएको भन्दै जनमोर्चाले यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताएको हो।

नेपालको कालापानी क्षेत्रमा पर्ने गुन्जी गाउँमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई पूर्व जानकारी नगराई भ्रमण गरेकोमा पनि सो पार्टीले आपत्ति जनाएको छ ।

पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ–कालापानी क्षेत्रमा पर्ने गुन्जी लगायतका गाउँ दार्चुला जिल्लाको ब्यास गाउँपालिका- १ मा पर्दछन् । कुटी, गुन्जी, नाभी, न्यूराङ्, छोटाकैलाश सहितको कालापानी क्षेत्र नेपालको सार्वभौमसत्ता र राष्ट्रिय खण्डताभित्र पर्ने भूभाग हुन् । नेपाललाई कुनै जानकारी नै नगरी भारतीय प्रधानमन्त्री उक्त क्षेत्रमा भ्रमण गर्ने कुरा अन्तर्राष्ट्रिय कूटनीति, मर्यादा तथा शिष्टाचारको उल्लङ्घन हो । त्यसका साथै त्यो भारतीय साम्राज्यवादको नेपालप्रतिको हेपाहा तथा विस्तारवादी नीति नै हो ।

भारतीय प्रधानमन्त्रीको भ्रमणबाट पनि कालापानी क्षेत्रको अतिक्रमित भूभाग भारतले सहज रूपमा छोड्ने र आफ्ना सेना फिर्ता लैजाने पक्षमा नभएको नै देखाउने भएकोले यो विवादलाई अन्तर्राष्ट्रियकरण गर्न ढिलाइ गर्न नहुने सो पाटीको मत रहेको छ ।

Leave A Reply

Your email address will not be published.